राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । संघीय संसद सचिवालयले आइतबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २८ गते प्रस्तावको सूचना दिने कार्यक्रम तय गरिएको छ । यस्तै २९ गते निर्वाचन हुनेछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ देखि दिउँसो १ बजेसम्म प्रस्तावको सूचना दिने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।
सोही दिन साढे १ बजे दर्ता भएका प्रस्तावको सूचना प्रकाशित गर्ने र २९ गते दर्ता भएका प्रस्तावमा एक भन्दा बढी उम्मेदवार भएमा निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसका लागि राष्ट्रियसभाको बैठक बिहान ११ बजेर ९ मिनेटमा तय भएको छ । राष्ट्रियभा सभाअध्यक्षमा कांग्रेसले उम्मेदवार तय गरिसकेको छ भने गठबन्धनबाट माओवादीले उम्मेदवार खडा गर्नेछ ।