ग्राउन्ड ह्यान्डलिङ सेवामा निगमले पायो अन्तर्राष्ट्रिय गुणस्तरको प्रमाणपत्र

काठमाडौं । नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवामा अन्तर्राष्ट्रिय गुणस्तरको प्रमाणपत्र पाएको छ।
प्रमाणपत्र पाएसँगै ग्राउन्ड ह्यान्डलिङ सेवाको गुणस्तर ‘आइएटिए सेफ्टी अडिट फर ग्राउण्ड अपरेसन’ बाट प्रमाणीकरण भई दुई वर्षका लागि नवीकरण समेत भएको छ।
आइटिए–आइएसएजीओको नियमानुसार दुई/दुई वर्षमा गरिने अडिटको लागि आइएटिएका आधिकारिक अडिटर्सले अडिट गरेपछि निर्धारित सबै मापदण्ड पूरा गरेको हुनाले यो प्रमाणपत्र प्रदान गरिएको निगमले जनाएको छ।
ग्राउण्ड ह्यान्डलिङ सेवाको लागि निगमले विगत सन् २०१६ अगष्ट २६ देखि प्रमाणपत्र प्राप्त गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्दै आइरहेको छ।
यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्य वायुसेवाहरूको समेत अन्तर्राष्ट्रिय उडानहरूमा ग्राउन्ड ह्यान्डलिङ सेवा नेपाल एयरलायन्सले नै दिँदै आएको छ।