आजदेखि एकीकृत कारोबार सुरु गर्दै सामुदायिक र बीपीडब्लु लघुवित्त
काठमाडौं । सामुदायिक र बीपीडब्लु लघुवित्त एक आपसमा मर्जर भएर आज फागुन २४ गते बिहीबारबाट एकीकृत कारोबार सुरु हुँदैछ । दुवै संस्था एक भएपछि सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो । योसँगै आजदेखि १५ दिनसम्म यो कम्पनीको सेयर कारोबार राक्का भएको छ ।
‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्था बमोजिम सेयर कारोबार रोक्का भएको हो । दुवै कम्पनी १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन् । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं १४ मा रहने छ ।
दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले माघ २४ र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति दिएको थियो । यसअघि असोज ३० गते सम्पन्न दुवै लघुवित्तको विशेष साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए ।