भारतीय सेयर बजारमा नयाँ अल टाइम हाई रेकर्ड, सेन्सेक्स ७४,०८५ र निफ्टी ५० सूचक २२,४७४ विन्दुमा बन्द
काठमाडौं। भारतको सेयर बजारले बुधबार नयाँ रेकर्ड कायम गरेको छ । प्रमुख सेयर बजार सूचकहरु बीएसई सेक्सेक्स र निफ्टी ५० दुवैले यस दिन नयाँ अल टाइम हाई रेकर्ड बनाएका हुन् । सेन्सेक्स ४०८ विन्दुले बढेर हालसम्मकै उच्च ७४,०८५ विन्दुमा बन्द भएको छ । इन्ट्राडे कारोबारमा यो सूचक ७४,१२१ को अल टाइम हाई विन्दुसम्म पुगेको थियो ।
यता, निफ्टी ५० सूचक पनि ११७ विन्दुले बढेर २२,४७४ को ऐतिहासिक उच्च विन्दुमा बन्द भएको छ । बुधबार बैंकिङ क्षेत्रका स्टकमा उच्च सुधार भएपछि सेयर बजार अल टाइम हाई विन्दुमा बन्द भएको हो । पछिल्लो समय विश्वका प्रमुख सेयर बजारहरुमा देखिएको सकारात्मक माहोल, बलियो भारतीय अर्थतन्त्र, तरलता र अपेक्षित भन्दा सहज मुद्रास्फीतिले भारतीय सेयर बजार निरन्तरजसो बढिरहेको छ ।