महिला उद्यम समितिद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
विराटनगर । ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मोरङ व्यापार संघको महिला उद्यम समितिले पारस मल्टी स्पेसियालिटी हस्पिटलसँगको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
विराटनगर–१६ स्थित दरैया बस्तीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय जनाको स्थानीयको स्वास्थ्य परीक्षण भएको संघले जनाएको छ । उनीहरूलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।
मोरङ व्यापार संघको महिला उद्यम समितिकी संयोजक बन्दना जैन, सचिव साधना झा, संघका वरिष्ठ अधिकृत विनय कर्ण लाभसहित आभा फाउन्डेसनकी संस्थापक आभा अनुपमाको सक्रियतामा शिविर आयोजना भएको बताइएको छ ।
शिविर सञ्चालनमा पारस हस्पिटलको तर्फबाट वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कविता यादव, फिजिसियन डा. स्नेहा झा, डेन्टिस्ट डा. उपमा रायलगायतले स्वास्थ्य सेवा प्रदान गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेमनारायण मेहताले बताए ।
शिविरमा मुख्यतः स्त्री रोग अन्तरगत महिलाहरूको महिनावारी, रक्तश्राव, बाँझोपन, छाला इन्फेक्सन, वान्ता, पिसाब, गाँठा–गाँठो तथा छाती, पेट, टाउको, हात खुट्टा आदि दुखाइजस्ता विरामीहरूले सेवा प्राप्त गरेको बताइएको छ । त्यस्तै, बच्चाहरूमा रुघाखोकी, वान्ता, ज्वरो, घाउ खटिरा आदि समस्या सहित पेट, छाती, आँखाको समेत परीक्षण गरिएको जनाइएको छ ।