घाटबेंसी बस दुर्घटना: मृतकको सङ्ख्या ७ पुग्यो, ३० बढी घाइते
धादिङ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेंसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । रुपन्देहीको पडरियाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेंसी भन्ने ठाउँबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनामा १ जना महिलासहित ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले राससलाई जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ । उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए । गौतमले भने, ‘घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।’
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार जारी छ । बस नदीमा डुबेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ ।
बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।