कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबस त्रिशूलीमा खस्दा ५ जनाको मृत्यु, ३८ जनाको उद्धार
काठमाडौं । कपिलवस्तुबाट काठमाडौं आइरहेको बस बुधबार बिहान त्रिशूलीमा खसेको छ । पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका– ५ घाटबेशीमा गति अनियन्त्रित भई बस त्रिशूलीमा खसेको सशस्त्र प्रहरीले जनाएको छ ।
रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता नायव उपरीक्षक (डीएसपी) सन्तु जैसवालले जानकारी दिए ।
सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान ४:४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो ।
बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको डीएसपी जैसवालले बताए ।
उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।