एकैदिन तोलामा २ हजार रुपैयाँ बढ्यो सुनको भाउ
काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख २१ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, बिहीबार छापावाल सुन १ लाख १९ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो । अमेरिकी कमर्स डिपाटमेन्टले हालै सार्वजनिक गरेको मूल्य वृद्धि दर सम्बन्धी प्रतिवेदनका कारण सुनको मूल्यमा उतारचढाव देखिएको विश्लेषकहरुले बताएका छन् ।
उक्त रिपोर्टले मूल्य वृद्धि दर प्रक्षेपण भन्दा बढी आएको देखाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव आएसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ तोलाको १३ सय ९० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ८२.५५ डलरमा र चाँदी प्रतिऔंस २३.१३ डलरमा कारोबार भइरहेको छ ।
मुख्यतयः अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ । विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ ।