रिडी पावरको ५० प्रतिशत हकप्रद सेयरमा आजदेखि आवेदन खुला
काठमाडौं । रिडी पावर कम्पनीले आज फागुन १८ गते शुक्रबारदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।
उक्त हकप्रद सेयरको लागि यसले माघ २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यो हकप्रद सेयरमा लगानीकर्ताले चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ ।
रिडी पावरको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिन्छ । त्यस्तै, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
यो हाइड्रोपावरको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गरेको हो । हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।