६ महिनामा विद्युत प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०⁄८१को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, आयोजनाहरुलगायतमा जम्मा ५१ अर्व ९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमश ः विद्युत बिक्री र खरिद तथा आयोजनाहरुमा हुने गरेको छ ।
प्राधिकरणले समीक्षा अवधिमा १५ अर्ब ३६ करोड ६ लाख रुपैयाँ नाफा (करकट्टी गर्नुअघि) आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७९⁄८०को सोही अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ थियो ।
गत आवको पहिलो ६ महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आवको सोही अवधिमा ४ अर्ब ४४ करोड ४६ लाख रुपैयाँले बढी हो । गत आवको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ थियो । आव २०७२⁄७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत निर्यात बढ्दा आम्दानीमा भएको बृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको पहिलो ६ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए ।
‘बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौं, यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनाहरुमा हरेक वर्ष अरबौं रुपैयाँ लगानी गरिरहेका छौं’,कार्यकारी निर्देशक घिसिङले भने ।
‘विद्युत्मा आत्मनिर्भर बन्न, आन्तरिक रुपमा खपत बढाउन र उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् उपलब्ध गराउन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुमा आगामी वर्षहरुमा १०⁄१२ खर्ब रुपैयाँभन्दा बढीको लगानी आवश्यक पर्छ, नगद प्रवाहका लागि संस्थाको नाफाले मात्र पुग्दैन ।’
प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकहरुबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रुपैयाँको विद्युत् खरिद गरिएको छ ।
प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीहरुवाट २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट १ अर्व ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको हो । समीक्षा अवधिमा नेपाल सरकारमार्फत विनियोजन गरिएको वैदेशिकतर्फ ९ अर्व ०३ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ ।
नाफा/नोक्सानको अवस्था
आर्थिक बर्ष | नाफा(रुपैयाँ) | घाटा(रुपैयाँ) |
२०७२/७३ |
| ८ अर्ब ८९ करोड |
२०७३/७४ | १ अर्ब ५० करोड |
|
२०७४/७५ | ३ अर्ब ४४ करोड |
|
२०७५/७६ | ९ अर्ब ८१ करोड |
|
२०७६/७७ | ११ अर्ब ७५ करोड |
|
२०७७/७८ | ६ अर्ब ९करोड | |
२०७८/७९ | १३ अर्ब ३७ करोड |
|
२०७९/८० | १२ अर्ब ३३ करोड |
|
२०८०/८१ (६ महिना) | १५ अर्ब ३६ करोड |
|
स्रोत : नेपाल विद्युत प्राधिकरण ।