गायक तथा संगीतकार भक्तराज आचार्यको निधन
काठमाडौं । नेपाली सुगम संगीतमा विशिष्ट स्थान बनाएका वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।
भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेको संगीतकार चेतन सापकोटाले बताएका छन् ।
अपरान्ह साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज र लम्सालले उनलाई मेडिसिटी अस्पताल लैजाँदा गर्दा बाटोमै निधन भएको हो । गत दशैंमा लडेर टाउकोमा चोट लागेको थियो ।
आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् । उनका छोराहरू सत्य र स्वरूप पनि गायक हुन् ।
आचार्यका, जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ, हजार सपनाहरूको माया लायर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् ।