कुनै बैंक डुब्दैन, निक्षेप सुरक्षित छ: गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि बैंक तथा वित्तीय संस्था ढल्न लागेको अवस्थामा नपुगेको दोहोर्याएका छन् । नेपाल बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘अहिलेको अवस्था र परिदृश्यमा हाम्रा बैंक तथा वित्तीय संस्थाहरू ढल्ने स्थितिमा छैनन् । सानातिना कुनै संस्था त्यो अवस्थामा आए भने राष्ट्र बैंकले त्यो सम्हाल्न सक्ने अवस्थामा छ । यदि बैंक ढल्यो नै भने पनि निक्षेपकर्तालाई रक्षा गर्ने विधि हामीसँग छ । त्यसैले बचतकर्ताको बचत कुनै पनि हालतमा राष्ट्र बैंकले नियमन गरेको संस्थामा डुब्न हामी दिँदैनौं ।’ अधिकारीले भने ।
उनले नेपालको वित्तीय प्रणाली धेरै हदसम्म ठीक रहेको जिकिर समेत गरे । अधिकारीले थपे, ‘हाम्रा संस्था र नीतिहरू धेरै हदसम्म ठिक छन् । हामी कुनै बैंक वित्तीय संस्था जसले हाम्रा नीतिभित्र रहेर काम गरिरहेको छ त्यसलाई त्यतिकै ढल्न दिँदैनौ । राष्ट्र बैंक यसमा ढुक्क छ ।’
‘अन्तर्राष्ट्रिय बैंकिङ अभ्यास अनुसार कुनै बैंकको पुँजी तलै गयो भने त्यो बैंक ढल्न सक्छ । बैंक ढल्ने नसक्ने भन्ने होइन । ढल्ने अनुमति नै पनि दिइन्छ । तर, बजारम र प्रणालीमा त्यसको कस्तो असर पर्छ भन्ने हेरेर मात्रै त्यस्तो हुन दिइन्छ,’ उनले अगाडि थपे ।
अधिकारीका अनुसार हालको समस्या निर्माण क्षेत्रसँग पनि सम्बन्धित छ । निजी क्षेत्र र सरकारी तवरबाट हुने नयाँ र ठूला निर्माणका कामहरू भइरहेका छैनन् । वित्तीय क्षेत्रको ठूलो ऋणको उपयोग गरिरहेका निर्माण क्षेत्रसँग सम्बन्धित सिमेन्ट र रड लगायत उत्पादन गर्ने ठूला उद्योगहरूले उत्पादकत्व बढाउन सकेका छैनन् ।
समस्याको जडबारे प्रष्ट पार्दै उनले थपे, ‘हाल भावना र वास्तविकतामा तालमेल भएन भन्ने जुन कुरा छः त्यो यहींनेर छ । एक त उद्योगहरूको गतिविधि कम भएको कारणले समस्या भयो । सँगसँगै सहकारीको समस्याले पनि असर पार्यो । अनि हाम्रो निर्माण क्षेत्र सुस्तायो । खास यी कारणहरू देखिएका छन् ।’