इलाम २ को उपनिर्वाचन बैशाख १५ गते
बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा पनि बैशाख १५ गते नै उपनिर्वाचन
काठमाडौं । निर्वाचन आयोगले २०८१ बैशाख १५ गते शनिबार उपनिर्वाचन गर्ने गरी मिति तोकेको छ ।
आयोगको २०८० फागुन १३ गते आइतबार बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा इलाम–२ मा प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा बैशाख १५ गते निर्वाचन गर्ने जनाएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन मिति तोकिएको हो ।
इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ्ग र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वी बहादुर सिंहको निधन भएपछि उक्र स्थानमा पद रिक्त थियो ।
सम्बन्धित संघीय संसद सचिवालय र प्रदेश सभा सचिवालयबाट आयोगमा नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्य र धारा १८० को खण्ड (च) बमोजिम सुदूर पश्चिम प्रदेशको प्रदेश सभा सदस्यको स्थान रिक्त भएको जानकारी जानकारी गरिएको थियो ।
कुनै सदस्यको स्थान, प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने संवैधानिक व्यवस्था छ । सोही बमोजिम आयोगले उपनिर्वाचनको मिति तोकेको हो ।
निर्वाचन आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा.थानेश्वर भुसालले विगतमा जस्तै उपनिर्वाचनमा सहभागिता, सहयोग र सहकार्यका लागि सम्बन्धित सबैमा आग्रह गरे ।