एसटीएलआरपीद्धारा जनकपुरधामको गाइडबुक तयार

जनकपुर । जनकपुरको पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले जनकपुरधामको पुस्तक (गाइडबुक) तयार पारिएको छ । जनकपुरमा आयोजित जनकपुर साहित्य महोत्सव पाँचौं संस्करणको अवसरमा उक्त पुस्तककको विमोचन गरिएको छ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को पहल तथा जनकपुर उपमहानगरपालिका र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, होटल संघ नेपाल (हान) मधेश प्रदेश, नेपालल एशोसिएशन अफ टुर एण्ड ट्रवल एजेन्टस् (नाटा) मधेश प्रदेशको समन्वय तथा सहकार्यमा सो गाइडबुक तयार पारिएको हो ।
पुस्तकले जनकपुर भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई जनकपुर मन्दिरसंगसंगै यस आपपासका अन्य पर्यटकीयस्थलहरुको बारेमा यहाँको बारेमा जान्ने अवसर पाउने अपेक्षा गरिएको छ । संघीय सांसदहरू मनिष झा, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, जनकपुर उपमहानगरपािलकाका मेयर मनोज कुमार शाह, भारत नेपाल सम्बन्ध पर्यवेक्षक नविता श्रीकान्त , बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल शाह र नेपाल पर्यटन बोर्डका प्रबन्धक तथा जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठ, ब्राण्ड विज्ञ रञ्जित आचार्यले संयुक्त रुपमा गाइडबुक विमोचन गरेका थिए ।
उक्त पुस्तकमा जनकपुरधामको समग्र परिचय, एतिहासिक तथा धार्मिक महत्व, जनकपुर वरिपरिका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रहरुका बारेमा जानकारी दिनुका साथै मिथिला कला तथा खानाको बारेमा समेत उल्लेख गरिएको छ ।
विमोचन कार्यक्रममा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले जनकपुर आफैमा अन्तरराष्ट्रिय स्तरको धार्मिक पर्यटकीय स्थल भएको र पछिल्लो समय भारतको अयोध्यामा राम मन्दिर निर्माणसंगै जनकपुरको महत्व थप विस्तार हँदै गएको सन्दर्भमा गाइडबुकको प्रकाशनले जनकपुरको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए । उनले परियोजनाले क्रमशः नेपाली, मैथिली र हिन्दी गरी थप तीन भाषामा पुस्तक पकाशन गर्ने तयारी रहेको जानकारी दिए ।
जनकपुर उपमहानगरपािलकाका मेयर मनोज कुमार शाहले पुस्तकले जनकपुरको समग्र परिचयलाई एकै ठाउँमा समेटको र यसले जनकपुरलाई बुझ्न चाहनेलाई तथ सहयोग पुग्ने बताउँदै यसको प्रर्वद्धनमा उपमहानगरपालिका सधैं सकारात्मक रहेको बताए ।
परियोजनाले जनकपुर उपमहानगरपालिकासँगको सहकार्यमा जनकपुरमा यसअघि अल्पकालिन रोजगारीको काम तथा फोहोर व्यवस्थापन, साइनेज जडान लगायतका कार्य सम्पन्न गरेका थियो । जस अन्र्तगत जनकपुरको नोचा पोखरी पुनः निर्माण, जनकपुर मन्दिर परिसर, विमानस्थल लगायतका विभिन्न स्थानहरुमा सरसफाई जस्ता कार्यक्रम गरिएको थियो ।
कोभिड १९ को महामारीका कारण पर्यटन क्षेत्रका धेरै मजदुरले रोजगारी गुमाएको अवस्थामा नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना शुरु गरेको थियो ।