बैंकिङ क्षेत्रमा अराजकता फैलाउने गतिविधिप्रति बैंक तथा वित्तीय संस्थाको ध्यानाकर्षण
काठमाडौं । पछिल्लो समयमा बैकिङ क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधीहरु भइरहेको र सामाजिक संजालमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरुप्रति बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । आइतबार नेपाल बैकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्था सुरक्षित रहेको बताएका हुन् ।
उनीहरुले सर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिनेलाई कानुनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारसँग आग्रह गरेका छन् । ‘अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्तलाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै, नेपालको बैंकिङ क्षेत्र उदाहरणको रुपमा स्थापित भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीति/नियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै आएको बैंकिङ क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको छ ।’
नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको दाबी पनि संघहरुको छ । ‘निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख रुपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत् सुरक्षण गरिएको स्मरण गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ :