नागरिक लगानी कोषको खुद नाफा ६.३८ प्रतिशत बढ्यो
काठमाडौं । नागरिक लगानी कोषले ६.३८% ले खुद नाफा वृद्धि गरी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५४ करोड ६० लाख २ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यसैअवधिमा यसले ५१ करोड ३२ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा ब्याज आम्दानी र कोषको सेवा तथा कमिसनबाट हुने आम्दानी दुवैमा वृद्धि भएसँगै खुद नाफा बढेको हो ।
ब्याज आम्दानी ८.०७% ले बढेको छ भने सेवा तथा कमिसनबाट हुने आम्दानी १२.४२% ले बढेर ६८ करोड ६८ लाख १७ हजार रुपैयाँ पुगेको छ । नागरिक लगानी कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषको आकार ५९.१९% ले बढेर २४ अर्ब ४१ करोड ५४ लाख ९३ हजार रुपैयाँ पुगेको छ । यसको कुल लगानी २ खर्ब ३५ अर्ब ५ करोड ८ लाख रुपैयाँ रहेको छ ।
जसमध्ये सबैभन्दा धेरै मुद्दति निक्षेपमा १ खर्ब २४ अर्ब ९७ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । यता, पुँजीको अनुपातमा नाफा वृद्धि हुन नसक्दा यसको प्रतिसेयर आम्दानी भने २४.१५ रुपैयाँबाट घटेर २०.५५ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १६५.०८ रुपैयाँ रहेको छ भने आरओई ९.१०% रहेको छ ।