पछिल्लो ६ महिनामा रु.६.५४ अर्बको बीमा पोलिसी सरेण्डर
काठमाडौं । पछिल्लो ६ महिनाको अवधिमा जीवन बीमा कम्पनीका ५३ हजार बढी बीमा पोलिसी सरेण्डर भएका छन् । बीमा प्राधिकरणको तथ्यांकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा ६ अर्ब ५४ करोड ८८ लाख ८८ हजार रुपैयाँबराबरका ५३ हजार ११३ बीमा पोलिसी सरेण्डर भएका हुन् ।
तथ्यांक अनुसार समीक्षा अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै बीमा पोलिसीहरु सरेण्डर भएका छन् । यो अवधिसम्म नेपाल लाइफको २ अर्ब ३४ करोड रुपैयाँ बढीको १५ हजार ४७ बीमा पोलिसी सरेण्डर भएका छन् ।
त्यस्तै सबैभन्दा धेरै बीमा पोलिसी त्याग हुने कम्पनीमा लाइफ इ्रन्स्योरेन्स कम्पनी(नेपाल) दोस्रो स्थानमा रहेको छ । कम्पनीको १ अर्ब ३९ करोड रुपैयाँ बढीको बीमा पोलिसीहरु सरेण्डर भएका छन् । यो अवधिमा राष्ट्रि बीमा संस्थानको ५८ करोड ५६ लाखबराबरको ६ हजार ६०८,नेशनल लाइफको हजार ३७,मेट लाइफको २ हजार ५६,एशियन लाइफको ४ हजार ९०० सिटिजन लाइफको १ हजार ९२,सूर्यज्योति लाइफको २ हजार ५२८ र हिमालयन लाइफको ४ हजार ६१५ बीमा पोलिसी सरेण्डर भएका छन् ।
यो अवधिमा ५ वटा कम्पनीको एक हजारभन्दा कम बीमा पोलिसी सरेण्डर भएको छ । सन नेपाल लाइफको सबैभन्दा कम बीमा पोलिसी सरेण्डर भएको छ । कम्पनीको जम्मा ३०७ वटा पोलिसी सरेण्डर भएका छन् ।
यसैगरी आइएमई लाइफको ६५४,रिलायबल नेपाल लाइफ ७८०,सानिमा लाइफ ८७५ र प्रभुलाइफको ४९० वटा पोलिसी सरेण्डर भएका छन् ।
बीमा अभिकर्ताहरुले विभिन्न प्रलोभनमा पारेर बीमितको आर्थिक अवस्था नबुझीकनै पोलिसी खरिद गर्न लगाउने गरेको आरोप पहिले देखि लाग्दै आएको छ । जसका कारण बीमा गरेको केहि समयपछि बीमितहरु बीमाशुल्क भुक्तानी गर्न असमर्थ हुन्छन् र बीमा अवधि पुरा नहुदै बीचमै बीमा पोलिसी त्याग्न बाध्य हुन्छन् ।