अपर तामाकोशीको लिलामी भर्दा नपरेको पैसा आजबाट फिर्ता हुँदै
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम आज (माघ २२ गते) बाट फिर्ता हुँदैछ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार आजदेखि लिलामीमा नपरेको रकम क्रमश: फिर्ता हुँदै जानेछ । आवेदकले लिलामी आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै क्लियरिङ हाउसको कनेक्ट आइपीएस मार्फत रकम फिर्ता पाउनेछन् ।
अपर तामाकोशीको लिलामी सेयर भर्दा अर्बौ रकम जम्मा भएको छ । यसले गर्दा सो रकम दोस्रो बजारमा फर्किदा सेयर बजार चलायामान हुने लगानीकर्ताहरु बताउँछन् । यस लिलामीमा ३० हजारभन्दा बढीले आवेदन दिएका छन् । यसको कट अफ प्राइस १४७ रुपैयाँ आएको छ ।
यस हाइड्रोपावरले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो ।
जसमध्ये सर्वसाधारण समूहलाई छुट्याइएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका हुन् ।