५ हजार ७६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजनाको अध्ययन अघि बढाउँदै सरकार
काठमाडौं । सरकारले ५ हजार ७६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजनाको अध्ययन अगाडि बढाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले १०० मेगावाट क्षमताका ८ आयोजनाको अध्ययन गरिरहेको छ ।
यस्तै, १०० मेगावाटभन्दा कम क्षमताका विभिन्न १२ आयोजनाको पनि अध्ययन गरिरहेको छ । अध्ययनमा रहेका आयोजनालाई शीघ्र काम सम्पन्न गरी निर्माण प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ ।
विभागले १ हजार ७२० मेगावाट क्षमताको खिम्ती ठोसे शिवालय जलविद्युत् आयोजनाको अध्ययन गरिरहेको छ । सो आयोजना रामेछाप र दोलखा भएर बहने खिम्ती नदीमा निर्माण हुनेछ । पर्वत र बाग्लुङको सिमाना भएर बहने कालीगण्डकी नदीमा निर्माण हुने ८४४ मेगावाट क्षमताको कालीगण्डकी बहुउद्देश्यीय आयोजनाको पनि अध्ययन जारी छ ।
विभागका अनुसार ५१२ मेगावाट क्षमताको बुरबाङ, ११० मेगावाट क्षमताको कोखाजोर जलाशयुक्त आयोजना, ९१६ मेगावाट क्षमताको हुम्ला कर्णाली क्यास्केड, ७०० मेगावाट क्षमताको कालीगण्डकी दोस्रो, ३५० मेगावाट क्षमताको तल्लो बडीगाड र ११५ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको पनि अध्ययन अन्तिम चरणमा पुगेको छ । ती आयोजनाको कुल क्षमता ५ हजार २६७ मेगावाट छ ।
सरकारले अध्ययन गरिरहेका यी आयोजनालाई तत्काल आवश्यक प्रक्रिया पूरा गर्न जोडबल लगाएको छ । त्यसका लागि आवश्यक मार्गदर्शन एवं सहजीकरण गर्न मन्त्रालयले निर्देशन समेत दिएको छ ।
ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले अध्ययनमा रहेका ती आयोजनाको शीघ्र काम सम्पन्न गर्न विभागका महानिर्देशक चिरञ्जीवी चटौतलगायत उच्च पदस्थ कर्मचारीलाई निर्देशन दिएका छन् । लामो समयसम्म आयोजना अध्ययनमा मात्रै सीमित रहने प्रवृत्तिको पनि अन्त्य गरिनुपर्नेमा जोड दिँदै उनले भने, ‘सबै तयारी समयमै सकिनुपर्छ । त्यसो भए मात्रै अपेक्षित लाभ हासिल गर्न सकिन्छ ।’
विभागले ५३ मेगावाट क्षमताको माथिल्लो चमेलिया, ६२ मेगावाट क्षमताको हुम्ला कर्णाली, ६० मेगावाटको यान्मा खोलाको अध्ययन गरिरहेको छ । त्यसैगरी, मध्य इन्खु २५, कवाडी खोला एक १६, हिमा खोला ६ दशमलब सात, डाँडागाउँ खलङ्गा भेरी ८०, टोम डोगर ४३ मेगावाट क्षमताको आयोजना अध्ययनको चरणमा छ ।
तिला ४३, मस्र्याङ्दी तेस्रो ४१, सुपर बूढीगण्डकी ३४ र अपर होंगु ३२ मेगावाट क्षमताको आयोजना अध्ययनका क्रममा छ । ती आयोजनाको कुल क्षमता ४९६ मेगावाट बराबर छ ।
विभागले २३ जलविद्युत् आयोजनाको भने सम्भाव्यता तथा वातावरणीय अध्ययन सम्पन्न गरिसकेको छ । आगामी १२ वर्षमा २८ हजार ५०० मेगावाट क्षमता बराबर विद्युत् उत्पादन गर्ने लक्ष्य निर्धारण भएको छ । सो लक्ष्यअनुसार विद्युत् उत्पादनका लागि पनि अध्ययनको काम सम्पन्न गरी आयोजना निर्माणको तयारी गर्नु जरुरी भइसकेको छ ।
मुलुकभित्र निर्माणमा रहेका, निर्माणमा जाने तयारीमा रहेका अधिकांश आयोजना नदी प्रवाही प्रकृतिका छन् । जलाशययुक्त आयोजनाको अभावमा बढी बिजुली माग हुने हिउँदको समयमा विद्युत् आपूर्तिमा सधैँ समस्या पैदा हुने गरेको छ । यो तथ्यलाई मनन गरेर सरकारले पछिल्ला दिनमा अर्धजलाशय र जलाशय प्रकृतिका आयोजनालाई विशेष प्राथमिकतामा राखेको छ ।
रासस