व्यवसायी अरुण चौधरी पक्राउ, बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हडपेको आरोप
काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।
छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीको भनाइ छ ।
यही घटनामा अनुसन्धानका लागि सीआईबीले बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पनि पक्राउ गरेको छ ।
के हो विवाद ?
बाँसबारी छाला उद्योग चीन सरकारको अनुदान सहयोगमा २०२० सालमा स्थापित भएको थियो । कारखानामा २०४४ मा चौधरी ग्रुपको इन्ट्री भएको देखिन्छ । चौधरी समूहले सरकारसँग मिलेर २०४४ मा बाँसबारी छालाजुत्ता कारखाना सञ्चालन भएकै कम्पाउण्डमा अर्को कम्पनी स्थापना गरे । सो कम्पनी हो–‘च्याम्पियन फुटवेयर लिमिटेड ।’ च्याम्पियन फुटवेयरमा चौधरीहरुले २५ प्रतिशत लगानी गरे । अरु लगानी सरकारले नै गरेको हो । बाँसबारी छालाजुत्ता कारखाना संचालक समितिको निर्णयबाट सुरुमा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा १० रोपनी जग्गा पास गराएको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।
अजित नारायण सिंह थापा त्यसबेला बाँसबारी छालाजुत्ता कारखानाको संचालक समितिका अध्यक्ष थिए । संचालक समितिको निर्णय र प्रतिवेदनको आधारमा जग्गा मालपोतबाट पास गरेको भेटिएको छ । उनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
२०४७ मा च्याम्पियन्स फुटवेयर बन्द भयो । त्यसअघि नै ०४४ मा च्याम्पियन्सको नाममा जग्गा गइसकेको थियो । ‘घाटा भयो’ भनेर चौधरीहरुले जुत्ता कम्पनी बन्द गरेका हुन् ।
२०४९ मा बाँसबारी छालाजुत्ता कारखाना पनि बन्द गरियो । त्यसपछि चौधरी ग्रुपले संचालक समितिबाट निर्णय गराएर १० रोपनी जग्गा सहित फुटवेयर कम्पनी ‘प्रालि’मा परिवर्तन गराए । २०५४ मा सो जग्गा प्रालिमा रुपान्तरण भएर २०७५ मा चाँदबाग रेसिडेन्सी प्रा.लिमा कन्भर्ट भएको छ ।
काठमाडौँको बत्तिसपुतली घर भएका अजित नारायण सिंह थापा नेपाल औधोगिक इन्डष्ट्रियल कर्पोरेशन, बाँसबारी छालाजुत्ता तथा च्याम्पिय फुटवेयर लिमिटेडका पूर्व अध्यक्ष हुन् । जग्गा चौधरी ग्रुपलाई सुम्पिनुमा उनको मुख्य हात देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।
जग्गा हिनामिना गरेर चौधरी ग्रुपले आफ्नो बनाएको भन्दै काठमाडौँ–३ का वडा अध्यक्षसहित ४८ जना स्थानीयले सीआईबीमा उजुरी गरेका छन् ।
सरकारबाट हडपेर ल्याएको जग्गामा चाँदबाग स्कुल सञ्चालन गरिएको छ । स्कुलका मुख्य संचालक सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी हुन् ।
चौधरी ग्रुपले ‘किर्ते गरेर सरकारी जग्गा हिनामिन गरेको र सरकारलाई ठगेको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।