एलन मस्कलाई पछि पार्दै बर्नार्ड आर्नल्टले खोसे विश्वको सबैभन्दा धनी व्यक्तिको ताज
काठमाडौं । लुई भिटनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बर्नार्ड अर्नाल्टले टेस्लाका संस्थापक इलोन मस्कलाई संसारको सबैभन्दा धनी व्यक्ति बन्ने दौडमा पछि पारेका छन् । फ्रान्सेली अर्बपति आर्नल्ट र उनको परिवारको कुल सम्पत्ति २०७.६ अर्ब अमेरिकी डलर पुगेपछि सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा पहिलो स्थानमा आएको फोर्ब्सले उल्लेख गरेको छ ।
यता, मस्क सम्पति भने २०४.७ अर्ब अमेरिकी डलरसहित दोस्रो स्थानमा झरेको फार्ब्सको तथ्यांकले देखाएको छ । यी दुई अर्बपतिबीच सन् २०२२ देखि नै पहिलो स्थानका लागि प्रतिस्पर्धा जस्तै चल्दै आएको छ । यसअघि उच्च मुद्रास्फीतिको सामना गर्दा प्रविधि क्षेत्रका सेयरहरुले संघर्ष गर्नुपरेपछि मस्कलाई पछि पार्दै अर्नाल्ट सन् २०२२ को डिसेम्बरमाम विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए ।
त्यसपछि, सन् २०२३ को जुलाईमा मस्क पुनः विश्वको सर्वाधिक धनी व्यक्ति बन्न सफल भएको थिए । अर्नाल्ट र उनको परिवारको कुल सम्पति शुक्रबार २३.६ अर्ब डलरले बढेर २०७.८ अर्ब डलर पुगेको थियो । अर्कोतर्फ, टेस्लाको सेयर बिहीबार एकैदिन करिब १३% ले घटेपछि मस्कले भने १८ अर्ब डलरभन्दा बढी नेटवर्थ गुमाएका थिए ।
लक्जरी सामान उत्पादन गर्ने लुई भिटनले बिहीबार चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्दै उत्पादन बिक्री १०% ले बढेको उल्लेख गरेको थियो । यता, मस्कले भने टेस्लाको विद्युतीय सवारीसाधनको मूल्यमा उच्च प्रतिस्पर्धाका कारण टेस्लाको आम्दानी घटेको बताएपछि सेयर भाउमा भारी गिरावट आएको थियो ।