अन्नपूर्ण संरक्षण क्षेत्रमा १३५ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुँदै, कुल लागत ३३ अर्ब ३८ करोड
मनाङ । हिमाली जिल्ला मनाङमा पहिलो पटक राष्ट्रिय प्रशारण लाइनमा जोडिने गरी जलविद्युत् आयोजना निर्माण हुँदैछ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रमा नै १३५ मेगावट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
गत मंगलबार बसेको मन्त्रीपरिषद्को जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि वन क्षेत्रको जग्गा दिने निर्णय भएको आयोजनाका प्रबन्धक प्रतीक महर्जनले जानकारी दिए । यसका साथै आयोजना निर्माणका लागि वन क्षेत्रमा पर्ने १ हजार ८३९ रुख काट्न र पोल हटाउन स्वीकृति पाएको उनले बताए ।
मन्त्रीपरिषद्को बैठकबाट आयोजना निर्माणस्थलमा भएका रुख काट्न र पोल हटाउन स्वीकृति दिने निर्णय भएसँगै प्रशासनिक र कानुनी तवरबाट जग्गा प्राप्तिको कामलाई प्राथमिकता दिएको उनले बताए ।
मनाङमा पहिलो पटक आयोजना निर्माण गर्न लागिएको आयोजनाका लागि एक्यापको वन क्षेत्रमध्ये ३३.४७ हेक्टर क्षेत्रलफलमा निर्माण हुने आयोजनाका सहायक प्रबन्धक राजकुमार बरालले बताए ।
उनका अनुसार आयोजना निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्रको राष्ट्रिय वनको उक्त क्षेत्रमा आयोजना निर्माण हुनेछ ।उनले भने, ‘प्रशासनिक कार्य गरिरहेका छौं । कम्तीमा तीन÷चार महिनापछि आयोजनाको संरचना निर्माण गर्ने लक्ष्य लिइएको छ ।’
आयोजना निर्माणका लागि मनाङको सदरमुकामस्थित चामे गाउँपालिकाको १, २, ३ र ५ र नासों गाउँपालिकाको ८ र ९ नम्बर वडामा जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडि बढाइएको आयोजनाका प्रबन्धक एवम् बुटवल पावर कम्पनीका प्रबन्धक महर्जनले बताए ।
उनले भने, ‘मन्त्रीपरिषदबाट स्वीकृति पाएका छौं । अब हाम्रो कम्पनीको नाममा सार्नका लागि आवश्यक काम भइरहेको छ ।’ वन क्षेत्रको जग्गा २५ वर्षसम्म आयोजनाले उपयोग गर्न पाउने गरी मन्त्रीपरिषद्बाट निर्णय भएको छ ।
मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाको विकासको लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच विसं २०७९ पुस ३ गते सम्झौता भएको थियो । चार वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको महर्जनले बताए ।
आयोजनामा नेपाली साझेदार बीपीसीले २० प्रतिशत र तीन चिनियाँ कम्पनी एससीआईजी इन्टरनेशनल, छिङचेङ इन्टरनेशनल र चिनियाँ लगानीकर्तामा क्यूवाइसी इन्टरनेशनलले संयुक्त रुपमा ८० प्रतिशत सेयर स्वामित्व रहने गरी लगानीकर्ताबीच समझदारी भएको जनाएको छ ।
आयोजनाको कुल लागत ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ । आयोजना विकास सम्झौता भएसँगै चिनियाँ साझेदारले चिनियाँ बैंकबाट ऋण उपलब्ध गराउने सम्झौता भएको उनले बताए ।
आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिब १ अर्ब ३३ करोड स्वपूँजी लगानी गर्नेछ । आयोजनाले वार्षिक ७५ करोड ९ लाख ४८ हजार ८७५ युनिट विद्युत् उत्पादन लक्ष्य लिएको छ ।
१३५ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजना पिकिङ रन अफ दि रिभर प्रकृतिको हुनेछ । जसबाट वार्षिक ७६६.५९३ गिगावाट आवरमा विद्युत् उत्पादन हुने महर्जनले जानकारी दिए । सम्भाव्यता अध्ययनका अनुसार यस आयोजनाको ग्रस हेड ४३०. २० मिटर र हेडरेस टनेल ६.०७५ किलोमिटर छ । आयोजनामा २० प्रतिशत बीपीसी र चिनियाँ कम्पनीको ८० प्रतिशत लगानी रहनेछ ।
आयोजनाले मनाङको चामे गाउँपालिकाको कोतोमा अर्धजलाशययुक्त ड्याम (पर्खाल) बनाउने गरी नासों–८ कम्लोमा पावर हाउस बनाउनका लागि आवश्यक कार्यालय स्थापना गरिसकेको आयोजनाले जनाएको छ ।
मन्त्रीपरिषद्को निर्णयसँगै वन्यजन्तु विभागलगायतका सम्बन्धित निकायसँग सम्झौता गरी विकास निर्माणको काम अघि बढाइने प्रबन्धक महर्जनले बताए ।
विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो ताल मुहान भएको मस्र्याङ्दी नदीबाट लमजुङको माथिल्लो मस्र्याङ्दी आयोजना, मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना र तनहुँमा मस्र्याङ्दी जलविद्युत् आयोजनामार्फत विद्युत् उत्पादन तथा वितरण भइरहेको छ ।
रासस