एक महिनामै एक अर्बको बीमा पोलिसी ‘सरेन्डर’
![insurance insurance](https://www.arthikpati.com/wp-content/uploads/2024/01/insurance-1024x640-1024x585.jpg)
काठमाडौं । एक महिनामै एक अर्ब रुपैयाँ भन्दा बढीको बीमा पोलिसी ‘सरेन्डर’ भएको छ । गत मंसिर महिनामा एक अर्ब ८ करोड ७० लाख ९५ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको हो ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक हेर्ने हो भने उक्त रकम ९ हजार ७४४ जना बीमितले सरेन्डर मार्फत फिर्ता लगेका हुन् । गत मंसिर महिनामा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेका छन् । यस कम्पनीका २ हजार ४२५ बीमितले ३६ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् ।
त्यस्तै, यस महिना राष्ट्रिय बीमा संस्थानको १२ करोड ५ लाख ६६ हजार रुपैयाँ बराबरको १ हजार ५८५ बीमितले बीमा पोलिसी सरेन्डर भएको छ । त्यसैगरि यसै अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको ६ करोड ८२ लाख ७५ हजार रुपैयाँ बराबरको ४२२ बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ ।
सोही अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको २२ करोड ८ लाख १४ हजार रुपैयाँको १ हजार ९४७ वटा, मेट लाइफको ३ करोड ८० लाख ४० हजार रुपैयाँ बराबरको ३२६ वटा र एशियन लाइफको ८ करोड ७१ लाख ७६ हजार रुपैयाँको एक हजार १ हजार ९९ वटा बीमा पोलिसी सरेन्डर भएको हो ।
यस्तै, आईएमई लाइफका ११२ जना बिमीतहरुले १ करोड १४ लाख ५४ हजार रुपैयाँ बराबरको पोलसी त्यागेका छन् भने सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६५ लाख ५ हजार रुपैयाँको पोलिसी ‘सरेन्डर’ भएको छ । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको पनि ६६ लाख ८६ हजार रुपैयाँ बराबरको ७३ वटा पोलिसी त्याग भएको छ ।
प्राधिकरणको तथ्याङक अनुसार बीमितहरुले सिटिजन लाइफ इन्स्योरेन्सबाट ९२ लाख ३० हजार रुपैयाँ बराबरको १४६ वटा, सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ४९ हजार रुपैयाँ बराबरको ४७४ वटा पोलिसी सरेन्डर भएको छ ।
सोही अवधिमा बीमितहरुले सानिमा रिलायन्सको २ करोड ३४ हजार रुपैयाँ बराबरको १६० वटा, हिमालयन लाइफ इन्स्योरेन्सको ५ करोड ८७ लाख ७८ हजार रुपैयाँ बराबरको ७१८ वटा र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ५९ लाख ७८ हजार रुपैयाँ बराबरको १४० वटा बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।