सोनापुर मिनिरल्सले बोलायो एजीएम, लाभांश नदिने

काठमाडौं । सोनापुर मिनिरल्स एन्ड आयलले माघ २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा प्रबन्धपत्र संशोधन गर्ने र कम्पनीको उद्देश्य थप गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, कम्पनीको हाल कायम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढीको रकम विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण चुक्ता गर्न अनुमोदन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
सोनापुरले लाभांश प्रस्तावबिनै साधारण सभा बोलाएको छ । पछिल्लो समय यस कम्पनीमा लगानीकर्ता झुम्मिंदै आएका छन् । यसले लाभांश वितरण गर्छ वा गर्दैन भन्ने विशेष चासो थियो ।
गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत अन्य विवरणहरु छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । साथै, सभामार्फत सर्वसाधारण सेयरधनी समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेको छ । साधारण सभा होटल माला इन घोराही–१५, दाङमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि माघ १२ गते बुक क्लोज हुने भएकाले माघ ११ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।
