रिलायन्स स्पिनिङ मिल्सले माघ १० गतेदेखि बुक बिल्डिङबाट आइपीओ खुला गर्ने
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले माघ १० गतेदेखि बुक बिल्डिङ विधिमार्फत गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । यस कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सेयर बोलकबोल खुला गर्न लागेको हो । यसले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४% ले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर जारी गर्न अनुमति पाएको छ ।
जसमध्ये ४०% अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गर्न लागेको हो । बोलकबोलका प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ । संस्थागत लगानीकर्ताले सोही परिमार्जित सीमाभित्र रहेर बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।
संस्थागत लगानीकर्ताले बोलपत्र पेश गर्ने अन्तिम मिति माघ १४ गते तोकिएको छ । उक्त मितिको भोलिपल्ट संस्थागत लगानीकर्ताहरुलाई निष्कासित सेयर पूर्णरुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको ‘कट अफ प्राइस’ मूल्य निकालिने कम्पनीले जानकारी गराएको छ ।
कट अफ प्राइस वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकलाई माग बमोजिमको धितोपत्र कट अफ प्राइसमा बाँडफाँट हुनेछ । उक्त कट अफ प्राइस भन्दा १०% मूल्य घटाएर दोस्रो रचणमा सर्वसाधारणलाई सेयर जारी हुन्छ ।
यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । केयर रेटिङ नेपालले कम्पनीलाई समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता केयर एनपी सिंगल ए माइनस इस्युअर रेटिङ प्रदान गरेको छ ।