विकास बैंकहरुले पनि घटाए ब्याजदर
काठमाडौं। विकास बैंकहरुले माघ महिनाको लागि ब्याजदर घटाएका छन् । राष्ट्रियस्तरका विकास बैंकहरुको माघ महिनाका लागि औसत ब्याजदर ८.९१ प्रतिशत रहेको छ । पुस महिनामा यिनीहरुको औसत ब्याजदर ९.२५ प्रतिशत थियो । बैंकहरुले मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदर औसत ०.३४ प्रतिशत बिन्दुले घटेको छ ।
माघमा गरिमा, सांग्रिला, शाइन रेसुंगा र कामना सेवाले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९ प्रतिशत ब्याज दिने भएका छन् । ज्योति, लुम्बिनी र महालक्ष्मी विकास बैंकले भने अधिकतमा ८.८० प्रतिशत ब्याजदर तोकेका छन् । मुक्तिनाथले भने माघ महिनाको लागि ब्याजदर सार्वजनिक गर्न बाँकी छ । यता, वाणिज्य बैंकहरुले पनि माघ महिनाको ब्याजदर घटाएका छन् ।
प्रणालीमा अधिक तरलता रहेको छ । तर अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । यसैकारण बैंकहरुले ब्याजदर घटाएर भए पनि कर्जा प्रवाह बढाउने रणनीति लिएका हुन् । ब्याजदर घटेपछि बेस रेट पनि कम हुँदै जान्छ । अन्ततः ऋणीले फाइदा पाउँछन् । तर बैंकम निक्षेप राख्नेलाई भने यसबाट घाटा हुन्छ ।