कमेडी च्याम्पियन सिजन– ३ को तयारी तीव्र
काठमाडौँ । नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटी शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । डिजिटल अडिसनबाट हजारौँ आवेदकमध्ये १३२ जनालाई प्रि–जजिङका लागि बोलाएर तीमध्ये पनि ७६ जनालाई फिजिकल अडिसन राउन्डमा बोलाइएको थियो । हाल उक्त अडिसन राउन्डको छायाङ्कन सकिएको र प्रसारणको तयारीमा प्रोमोसन सुरु गरिएको छ ।
तेस्रो सिजनमा उमेरको हिसाबले १३ वर्षकी बालिकादेखि केही सिनियर नागरिकसम्म, तराई मूलकादेखि कालीकोटबाट तथा अमेरिकादेखि आएका प्रतिस्पर्धीसम्मका नयाँ कमेडियनहरूको प्रस्तुति हेरी मनोरञ्जन लिन सकिनेछ ।
कान्तिपुर टेलिभिजनमा तथा डिजिटल पार्टनर ओएसआर रियालिटीमा शीघ्र प्रसारणमा आउन लागेको यस हास्य रियालिटी शोको मार्केटिङको जिम्मा मिडिया एजेन्सी एडी रिलिजले लिएको छ । उक्त एजेन्सीका अनुसार मुख्य प्रायोजकहरूमा डिसहोम फाइबरनेट, आईएमई लाइफ इन्स्योरेन्स, गोल्डस्टार सुज, यती कार्पेट, जोय स्किन केयर प्रोडक्ट्स, महालक्ष्मी पेन्ट्स तथा एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजका साथै केएल दुगडद्वारा प्रवर्द्धित स्काईवर्थ होम अप्लाएन्सेस रहेका छन् । त्यस्तै, भोटिङ पार्टनरमा खल्ती तथा मेकअप पार्टनर दि वान युनिसेक्स सालोन रहेका छन् भने वार्डरोबको व्यवस्थापनमा त्रिशूल र गराज रहेका छन् ।
कमेडी च्याम्पियन सिजन– ३ का जजहरूमा चर्चित हास्य कलाकारद्वय सन्तोष पन्त र मनोज गजुरेलका साथै चर्चित अभिनेत्री ऋचा शर्मा तथा सफल युवा निर्देशक प्रदीप भट्टराईले नै निरन्तरता पाएका छन् भने कार्यक्रम प्रस्तोतामा पनि रीमा विश्वकर्मालाई मेक्सम गौडेलले नै साथ दिनेछन् । निर्माण पक्षका अनुसार यस सिजनका विजेताले पनि नगद २५ लाख तथा सोहीबराबरको गाडी जित्नेछन् ।
कार्यक्रमको डेट अनाउन्समेन्ट यही साता प्रेस मिटमार्फत सार्वजनिक गरिने निर्माण पक्ष थ्री प्रोडक्सनले बताएको छ ।