ट्रिप एडभाइजरले काठमाडौंलाई राख्यो संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यमा
न्यूयोर्क टाइम्सको घुम्नुपर्ने सूचीमा नेपालको मुस्ताङ
काठमाडौं । विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको संघीय राजधानी काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्य (नेचर डेस्टिनेसन) का रुपमा घोषणा गरेको छ । ट्रिप एडभाइजरले ७ वटा वर्गमा ‘ट्रिप एडभाइजर ट्राभलर च्वाईस–२०२४’ घोषणा गर्दै काठमाडौंलाई पहिलो सूचीको प्राकृतिक गन्तव्य–२०२४ मा राखेको हो ।
राससका अनुसार विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्यमध्ये काठमाडौं एक नम्बरमा परेको छ । ट्रिप एडभाइजरले सन् २०२४ मा उत्कृष्टमध्ये उत्कृष्ट गन्तव्यका ७ वटा वर्गमा गन्तव्य घोषणा गरेको हो । जसमध्ये १० उत्कृष्ट गन्तव्य, प्राकृतिक गन्तव्य, ट्रेन्डिङ गन्तव्य, सांस्कृति गन्तव्य, खाना गन्तव्य, हनिमुन गन्तव्य र दिगो गन्तव्य छन् ।
त्यसैगरी, ट्रिप एडभाइजरले विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये काठमाडौंलाई २४ औँ नम्बरमा पारेको छ । ट्रिप एडभाइजर संसारको ठूलो यात्रा सहजीकरण गर्ने ‘ट्राभल गाइडेन्स प्लेटफर्म’ हो । जसले यात्रा बुकिङ, गन्तव्य छनोट र योजना बनाउन सहयोग गर्दै आएको छ ।
योसँगै नेपालको गन्तव्य प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान पुग्ने नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । उनले, “लाखौं उपभोक्ताको समीक्षा र प्रतिकृयाका आधारमा ट्रिप एडभाइजरले हरेक वर्ष विश्वका विभिन्न गन्तव्यलाई वर्गीकरण गर्दै आएको छ ।
यस पटक ७ वटा वर्गमध्ये नेपालले उत्कृष्ट गन्तव्यका रुपमा काठमाडौँलाई सूचिकृत गरेको छ, यसले कोभिड महामारीपछि लयमा फर्किरहेको नेपालको पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्छ ।”
निर्देशक लामिछानेले सरकारको १ वर्षे कार्यकालको सन्दर्भमा हालै प्रधानमन्त्री पुष्पकमल दाहालले घोषणा गरेको नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या अर्को वर्ष दोब्बर बनाउने योजनालाई सफल बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
बोर्डको तथ्यांक अनुसार सन् २०२३ मा १० लाख १४ हजार ८ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
न्यूयोर्क टाइम्सको घुम्नुपर्ने सूचीमा नेपालको मुस्ताङ
अमेरिकाको चर्चित अखबार ‘द न्यूयोर्क टाइम्स’ ले सन् २०२४ मा विश्वभरका घुम्नुपर्ने गन्तव्यको सूचीमा नेपालको मुस्ताङ समावेश गरेको छ । विश्वभरका ५२ ठाउँको सूची सार्वजनिक गर्दै न्यूयोर्क टाइम्सले मुस्ताङलाई सूचीकृत गरेको हो ।
न्यूयोर्क टाइम्सले नेपालको हिमाल पारिको जिल्ला भनेर चिनिने पर्यटकीय क्षेत्र मुस्ताङलाई समावेश गरेको छ । उत्तरी क्षेत्रमा अवस्थित प्राचीन हिमाली अधिराज्यका रूपमा रहेको मुस्ताङले शताब्दीदेखि यसको ग्रामीणपन र संस्कृति बचाएर राखेको टाइम्सले उल्लेख गरेको छ ।
यसअघि गत वैशाखमा सीएनएनले पनि घुम्नैपर्ने विश्वका २३ ठाउँको सूचीमा मुस्ताङलाई समेटेको थियो । सीएनएनले मुस्ताङलाई चिनाउँदै पर्वतीय पदयात्राका लागि प्रसिद्ध परौणिककालीन पदमार्ग समेत रहेको उल्लेख गरेको थियो ।
मुस्ताङ धार्मिक, पुरातात्विक एवं पर्यटकीय गन्तव्य हो । प्रसिद्ध धार्मिक स्थल मक्तिनाथ मुस्ताङको धार्मिक पर्यटक आकर्षण गर्ने धरोहर पनि हो । ऐतिहासिक र पौराणिक लोमन्थाङ अर्को आकर्षण छ ।