विदेशी मुद्रा सञ्चिति १ महिनामै ५६ करोड डलर बढ्यो, शोधनान्तर २ खर्ब १० अर्ब बचतमा
काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना अर्थात मंसिर मसान्तसम्ममा चालु खाता र शोधनान्तर स्थिति दुवै सकारात्मक देखिएका छन् । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार शोधनान्तर स्थिति २ अर्ब १० अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोड रुपैयाँले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको ५ महिनामा १ अर्ब ५८ करोड डलरले बचतमा रहेको हो । यता, मंसिरसम्ममा चालु खाता १ खर्ब ४० अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा रहेको थियो । यता, मंसिर महिनामा विदेशी मुद्रा सञ्चितिमा पनि सुधार आएको छ ।
गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४.८% ले बढेर मंसिर मसान्तमा १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकामा मंसिर मसान्तमा १३.६% ले वृद्धि भएर १३ अर्ब ३१ करोड डलर पुगेको छ । कात्तिक मसान्तमा १२ अर्ब ७५ करोड डलर रहेको विदेशी मुद्रा सञ्चित एक महिनामै ५६ करोड डलरले बढेको हो ।
चालु आर्थिक वर्षको ५ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति करिब १४ महिना बढीको वस्तु आयात र करिब ११ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ः ३२.८ प्रतिशत, ९८.३ प्रतिशत र २७.५ प्रतिशत रहेका छन् ।