शक्तिशाली पासपोर्टको सूचीमा नेपालको स्थान सुधार, नेपाली नागरिकलाई ४० देशमा अनअराभइल भिसाको सुविधा
काठमाडौं । विश्वका शक्तिशाली पासपोर्ट (राहदानी) हरुको सूचीमा नेपालले एक स्थान सुधार गरेको छ । बेलायती कम्पनी हेन्ली एन्ड पार्टनर्सको ‘हेन्ली पासपोर्ट इन्डेक्स २०२४’ मा नेपाली पासपोर्ट ९८ औं स्थानमा आएको छ । सन् २०२३ मा भने नेपाली पासपोर्ट सूचीको ९९औं स्थानमा रहेको थियो ।
यस्तै, नेपाली पासपोर्टबाट भिसाबिनै वा अन अराइभल भिसाका आधारमा प्रवेश गर्न सकिने मुलुकहरुको संख्या पनि बढेको । हेन्लीको सूची अनुसार नेपालको पासपोर्टबाट ४० वटा देशहरुमा भिसा फ्रि वा अनअराइभल भिसाका आधारमा प्रवेश गर्न सकिन्छ । सन् २०२३ मा भने ३९ वटा देशहरुमा यस्तो प्रवेश पाइन्थ्यो । सूचीमा अन्तिम स्थान अर्थात् १०४औं स्थानमा रहेको अफगानिस्तानको पासपोर्ट भने विश्वकै सबैभन्दा कमजोर सावित भएको छ ।
अफगानिस्तानको पासपोर्टबाट विश्वका २४ वटा देशहरुमा मात्र भिसाबिनै वा अन अराइभल भिसाका आधारमा प्रवेश पाइन्छ । यता, शक्तिशाली पासपोर्टहरुको सूचीमा यसपटक ६ वटा देशहरु शीर्ष स्थानमा रहेका छन् । फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापूर र स्पेन पहिलो स्थानमा रहेका छन् । यी देशहरुको पासपोर्टबाट १९४ वटा देशहरुमा भिसाबिना नै प्रवेश पाइन्छ ।