एनआइसी एसिया बैंकले फेरि घटायो ब्याजदर
काठमाडौं । एनआइसी एसिया बैंकले माघ महिनाको लागि ब्याजदर घटाएको छ । बैंकले बुधबार सूचना जारी गर्दै माघ १ गतेदेखि मुद्दति निक्षेपमा अधिकतम ८.०६५% ब्याजदर दिने जनाएको छ । बैंकले २४ महिनादेखि १८० महिनाको लागि उक्त ब्याजदर निर्धारण गरेको हो ।
पुस महिनामा बैंकको अधिकतम ८.६७% ब्याजदर दिंदै आएको छ । माघ महिनाको लागि यसले ३ देखि ६ महिनाको मुद्दति निक्षेपको ब्याजदर ६.२५०% निर्धारण गरेको छ । यस आधारमा मुद्दति निक्षेपमै बैंकले अधिकतम ८.०६५% र न्यूजतम ६.२५०% मात्र ब्याज दिने भएको छ ।
अहिले वित्तीय प्रणालीमा तरलता छेलोखेलो भएको अवस्था छ । तरलता व्यवस्थापन गर्न भन्दै केन्द्रीय बैंकले दिनहुँजसो बजारबाट पैसा खिचिरहेको छ । अन्तर बैंक ब्याजदर पनि सीमा भन्दा तल आएको छ । तर अझै पनि ब्याजदर महँगो भएकाले कर्जा प्रवाह हुन सकेको छैन । यही सन्दर्भमा माघदेखि लागू हुने गरी एनआइसी एसिया बैंकले पुनः ब्याजदर घटाएको हो ।
मुद्दति निक्षेपको ब्याजदर पनि ८ प्रतिशतकै लाइनमा आएपछि यसबट ऋणीलाई निकै फाइदा पुग्नेछ । तर निक्षेपकर्तालाई भने यसबाट घाटा हुनेछ । यता, ब्याजदर घटेपछि सेयर बजारका लगानीकर्ता भने उत्साहित भएका छन् । किनभने ब्याजदर घट्दै जाँदा सेयर बजारमा भने सकारात्मक प्रभाव देखिंदै जान्छ ।