२९औं क्यान इन्फोटेक माघ २५ गतेदेखि आयोजना हुने, ६० प्रतिशत स्टल बुकिङ
काठमाडौं । २९ औं क्यान इन्फोटेक यहि माघ २५ गतेदेखि सुरु हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक माघ २५ देखि २९ गतेसम्म सञ्चालन हुने भएको हो ।
हालै क्यान महासंघले एक सूचनामार्फत क्यान इन्फोटेकमा सहभागी हुनका लागि इच्छुकहरुलाई आव्हान गरेको छ । यसको लागि स्पोन्सर र बुकिङ्ग खुला गरिएको जनाएको छ । हालसम्म ६० प्रतिशत स्टल बुकिङ भइसकेको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका नौलो प्रविधिको प्रदर्शन गर्ने उद्देश्यसहित कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ)ले प्रत्येक वर्ष क्यान इन्फोटेक आयोजना गर्दै आइरहेको छ ।
मेलामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सफ्टवेयर, फिन्टेक, इन्टरनेट सेवा प्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स, मोबाइल तथा मोबाइल एक्सेसरिज, टेलिकम्युनिकेसन्स, आइटी कलेज तथा तालिम केन्द्रहरू, सफ्टवेयर सोलुसन्स, स्टार्टअप र इन्नोभेसनका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनीको सहभागिता रहने गर्दछ ।
‘सूचना प्रविधि क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिन आवस्यक’
चिरञ्जीवी अधिकारी
महासचिव, कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)
सूचना प्रविधिको विकासले देशलाई सम्वृद्धि बाटोमा लैजान सकिन्छ भन्ने थाहा हुँदा हुँदै पनि नेपाल सरकारले सूचना प्रविधि क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिएको छैन । जवसम्म सरकारले सूचना प्रविधि क्षेत्रलाई उद्योगको मान्यता दिदैन तवसम्म यस क्षेत्रको जग बलियो हुन सक्दैन । त्यसैले सूचना प्रविधि क्षेत्रलाई उद्योगको मान्यता दिन सरकार समक्ष हाम्रो जोडदार माग रहेको छ ।
जति आईटीका विधार्थीहरु उत्पादन भइरहेको छ, त्यो अनुरुपमा उनीहरु लाई रोजगारी सृजना गर्न सकिएको छैन । यस क्षेत्रलाई उद्योगको मान्यता नदिदा यस क्षेत्रका समस्याहरु लाई समाधान गर्न सकिएको छैन । अझै पनि स्मार्ट बोर्डलगायतका बस्तु लाई विलासी बस्तुको सूचीमा राखेर ४५ प्रतिशत भन्सार लगाइएको छ । तर यी बस्तु अहिले अत्यावस्यक बस्तु भैसकेका छन् ।
हामीले सामान्यतया क्यान इन्फोटेक भनेको प्रडक्टको सोकेस र ब्राण्डिङ मात्र बुझछौं तर यो स्टार्टअपको पनि सोकेस हो । यस मेलामा विधार्थीहरुले गरेको नयाँ नयाँ खोज तथा अनुसन्धानको पनि पर्दशन गरिनेछ । त्यस्तै सरकारले दिने सेवाहरु पासपोट, लाइसेन्स, श्रम स्विकृतीलगायतका सेवाहरु लाई आम मानिससम्म पुर्याउन मेलाले पुलको काम गर्नेछ । त्यस्तै मेलामा फिनटेकको पनि छुट्टै पेभेलियन हुन्छ । फिनटेकमा टेक्नोलोजी सोलुशन दिने सफ्टवेयरको बारेमा जानकारी पाउन सकिन्छ । विधार्थीका लागि आईटी प्रोजेक्ट, स्टार्टअप र जागिरको अवसर पनि दिनेछ । विधार्थीहरु लाई मेलामा नै अन्तवार्ता लिने, छनौट गर्ने र जागिर तथा इन्टनशीपको अवसर दिनेछौ । यो सबै कामहरुले आईसीटी फाउन्डेसन तयार गर्न सहयोग पुर्याउछ ।
सूचना प्रविधिको विकासका लागि सरकार, व्यवसायी र सरोकारवाला पक्षलाई समेटेर एउटा साझा कमिटि बनाउनु पर्छ । यसले यो क्षेत्रसँग सम्बिधित नियमित समस्या तथा समाधानका बारेमा छलफल गरेर निष्कर्ष निकाल्न सक्नेछ् ।