गत साता सुनको मुल्यमा गिरावट, अमेरिकी डलर मजवुत बन्दा सुनको मुल्यमा प्रभाव
काठमाडौं । गत साता उच्च विन्दुमा पुगेकाे सुनको मुल्यमा यो साता गिरावट देखिएको छ । साताभरमा सुन ताेलामा एक हजार रूपैयाँले सस्तिएकाे हाे ।
यो साताको पहिलो दिन आइतबार प्रतिताेला एक लाख २० हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य मंगलबारसम्म एक लाख २१ हजारसम्म पुग्यो । त्यसपछि भने सुनकाे मूल्य सस्तिएकाे थियाे ।बुधबार र बिहीबार सुनकाे भाउ सामान्य घटेकाे थियाे । हिजाे सुन प्रतिताेला एक लाख १९ हजार ५०० रूपैयाँमा झरेकाे थियाे । शुक्रबार भने सुनकाे मूल्य स्थिर रहेर अघिल्लाे दिनकै मूल्य कायम भयो । यो मुल्य साताको पहिलो दिनको तुलनामा अन्तिम दिन १,००० रुपैयाँले कम हो ।
यसैगरी, चाँदीको मुल्य पनि नेपाली बजारमा यस साता घटेको छ । आइतबार चाँदी प्रतिताेला एक हजार ४५५ रुपैयाँ रहेको चाँदीको मुल्य तेस्रो दिन एक हजार ४६० रुयैयाँमा कारोबार भएको थियो । जुन मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रतिताेला एक हजार ४२० रुपैयाँ कायम भयो।
सुनकाे भाउ घट्नुकाे कारण यस साता विश्व बजारमा सुनको मुल्यमा आएको कमी हाे । अमेरिकी डलरको विनिमय दरमा देखिएको मजवुतीका कारण मुल्यमा कमी आएको बिश्लेषकहरुले अनुमान गरेका छन् ।
यद्यपी सन् २०२४ मा सुनको मुल्यले उच्च रेकर्ड कायम गर्ने प्रक्षेपण भने भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले त्यो अवस्था देखाएको विभिन्न रिसर्चहरुले उल्लेख गरेका छन्।
विश्व बजारमा शुक्रबार सुन प्रति अउन्स ६ डलरभन्दा बढीले गिरावट भएकाे छ । आज सुन प्रतिअउन्स २०३८ डलरसम्म काराेबार भइरहेकाे छ ।