त्रिविले उपकुलपति नियुक्तिका लागि माग्यो दरखास्त
![Tribhuwan-University-TU-Kirtipur-Cover-1024x576 Tribhuwan-University-TU-Kirtipur-Cover-1024x576](https://www.arthikpati.com/wp-content/uploads/2024/01/Tribhuwan-University-TU-Kirtipur-Cover-1024x576-1-1024x585.jpg)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति पद छनोट गर्न दरखास्त आह्वान गरेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो ।
त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै ‘मेरिट’का आधारमा उपकुलपति छनोट गर्ने घोषणा गरेका थिए।
राससका अनुसार प्रधानमन्त्रीको घोषणा कार्यान्वयन गर्दै सिफारिस समितिले योग्यता र अनुभवका आधारमा उपकुलपति चयन गर्ने प्रक्रिया आरम्भ गरेको हो ।
आज प्रकाशित सूचनाअनुसार यसका लागि स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यता भई विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको हुनुपर्ने उल्लेख गरेको छ । आवेदकले विश्वविद्यालय सुधारका लागि सोचपत्र तथा ४ वर्षे व्यावसायिक कार्ययोजनासमेत प्रस्तुत गर्नुपर्नेछ ।
प्रधानमन्त्री दाहालले शैक्षिक गुणस्तर सुधारका लागि वार्षिक ‘क्यालेण्डर’लाई कडाइका साथ लागू गर्नुपर्ने तथा विश्वविद्यालयको प्राज्ञिक वातावरण निर्माण गर्न सबै विश्वविद्यालयलाई तत्काल कार्ययोजना पेस गर्नसमेत निर्देशन दिइसकेका छन् ।
![](https://adminapi.nepalipaisa.com/assets/uploads/news/image/news_2nalp41xaoc.jpg)