भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा, नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुँदै
काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन् ।
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
अबको १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमति अनुसार आज हस्ताक्षर हुन लागेको हो । सम्झौतासँगै १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यातको बाटो खुल्नेछ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा गत जेठ १८ मा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् आयातको घोषणा गरेका थिए ।
भारतको मन्त्रीपरिषद्ले पनि गत भदौमा त्यससम्बन्धी प्रस्तावलाई स्वीकृति दिएको थियो । सरकारले आउँदो १२ वर्षमा कुल २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीतिसमेत बनाइसकेको छ । त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट भारतलगायतका देशमा निर्यात गर्ने लक्ष्य राखिएको छ ।