जापानमा शक्तिशाली भूकम्प: १३ जनाको मृत्यु, सुनामीको खतरा टर्यो
काठमाडौँ । जापानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । अझै केही व्यक्ति हराइरहेको आशंका छ।
सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् ।
भूकम्पपछि जापानको मौसम विभागले सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको थियो । इशिकावाको तटीय क्षेत्रमा ५ मिटर अग्लो सामुद्रिक लहर आउन सक्ने चेतावनी जारी गरेपछि आसपासका हजारौँ मानिसलाई अन्यत्र सारिएको थियो ।
तर सुनामीको खतरा टरेको छ । ती सूचनाहरू हटाइएको छ ।
अहिले भूकम्प प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धारको काम जारी रहेको सीएनएनले जनाएको छ । भूकम्पका कारण सयौं भवनमा क्षति पुगेको छ भने हजारौं मानिसहरू प्रभावित भएको बीबीसीले जनाएको छ ।