धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न लेखा समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले आर्थिक चलखेल गरि अवाञ्छित र अपारदर्शी रूपमा विभिन्न कम्पनीहरूलाई आईपीओ निष्कासन गर्न अनुमति दिएर गैरजिम्मेवारीपूर्ण काम गरेको गुनासो रहेकाले हमालको सम्पति शीघ्र छानबिन गरी ३० दिनभित्र विवरण समितिलाई उपलब्ध गराउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले प्रिमियम मूल्यमा निष्कासन भएका सबै आईपीओको औचित्य र मूल्यांकनको सम्बन्धमा छानबिन गरि ३० दिनभित्र कार्यप्रगति समितिलाई उपलब्ध गराउन अख्तियारलाई निर्देशन दिएको छ ।
बैठकले घाटामा गएर पनि पुन: मूल्यांकन गरी मूल्य बढाएर शेयर बिक्री गर्ने र सर्वसाधारण लगानीकर्ता अत्यधिक जोखिममा पर्न सक्ने भएकाले त्यस्ता अवस्था आउन नदिने गरी कार्यसम्पादन गर्न धितो बाेर्डलाई निर्देशन दिएको छ । त्यस्तै बीमा कम्पनीहरूलाई प्रिमियममा सेयर बिक्री गर्न नेपाल बीमा प्राधिकरणले स्वीकृति दिनु बीमा ऐनको विपरीत भएकाले सो कार्यलाई सच्चाउन वीमा प्राधिकरणलाई निर्देशन दिइएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।
बैठकले धितोपत्र बजारमा गैरआवासीय नेपालीले समेत लगानी गर्न पाउने गरि कानुनी व्यवस्थापन गर्न गराउन अर्थमन्त्रालय र धितोपत्र बोर्डलाई निर्देशन दिएको उनले बताए ।
बैठकमा बोर्डका अध्यक्ष हमाललाई छलफलका लागि बोलाइएको थियो । तर, हमाल बैठकमा अनुपस्थित भएपछि समितिले गम्भीर ध्यानाकर्षण भएको भन्दै संसदीय समितिप्रतिको गैर जवाफदेहिता र आमनागरिकप्रतिको अपमान भएको ठहर गरेको छ ।