बक्यौता नतिर्ने उद्योगको लाइन काट्दै जान्छौँ : कार्यकारी निर्देशक घिसिङ
डेडिकेटेड तथा ट्रक लाइनको २२ अर्ब २४ करोड रुपैयाँ महसुल उठ्न बाँकी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने उद्योगको लाइन काट्दै जाने बताएका छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै घिसिङले महसुल नतिर्ने उद्योगको लाइन काट्दै जाने बताएका हुन् । उनले प्राधिकरणको बक्यौताबारे जानकारी गराउँदै डेडिकेटेड तथा ट्रक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ उद्योगबाट २०८० मङ्सिर मसान्तसम्म कुल २२ अर्ब २४ करोड रुपैयाँ महसुल उठ्न बाँकी रहेको जनाएको छ ।
प्राधिकरणले यसमध्ये करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता हालै लाइन विच्छेद गरिएका ९ वटा ठुला उद्योगहरूको भएको जनाएको छ । घिसिङले प्राधिकरणले बक्यौता रहेका अन्य उद्योगहरूको लाइन क्रमशः काट्दै जाने योजना रहेको प्रष्ट पारे । पटक–पटकको ताकेतामा पनि छुट महसुल तिर्न नआएपछि विद्युत् लाइन काट्न सुरु गरिएको प्राधिकरणले जनाएको छ ।
पुनरावेदन प्रक्रियामा आउन आग्रह
प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका र हाल लाइन काटिएका ग्राहकलाई पुनरावेदन प्रक्रियामा आउन आग्रह गरेको छ ।
महसुल उठाउनैपर्ने र राजस्वमा छुट दिन नसकिने भएकाले पुनरावलोकन प्रक्रियामा आउन वा किस्ताबन्दीमा तिर्नका लागि अवसर दिन सकिने स्पष्ट पारेको छ ।
पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बक्यौता उठाउन निर्देशन दिइसकेका छन् । राजस्व छुट दिन नसकिने भएकाले यसमा प्राधिकरणले केही गर्न नसक्ने स्पष्ट पार्दै उनले प्राधिकरण मातहत रहेको पुनरावलोकन समितिमा निश्चित् रकम धरौटी राखेर प्रक्रियामा आउन सम्बन्धित व्यवसायीलाई आग्रह गरे ।