जनकपुरमा अन्नबाट ११ हजार ११ वर्गफिटको सीता–राम स्वयंवर प्रतिमा, अयोध्याको विश्व रेकर्ड तोडिने
जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदानमा ११ हजार ११ बर्गफिटको सीता-रामको प्रतिमा निर्माण गरिएको छ।
त्रेता युगमा भएको राम सीताको विवाहको सम्झानामा जनकपुरमा मनाइने विवाह पञ्चमी महोत्सवको अवसरमा प्रतिमा निर्माण गरिएको हो। प्रतिमा अवलोकनका लागि सर्वसाधारणको घुँइचो लाग्न थालेको छ।
रंगभूमि मैदानको उत्तर-पूर्व कुनामा अन्नबाट सीता-रामको प्रतिमा निर्माण गरिएको हो। प्रतिमाको लम्बाइ १२० फिट र चौडाइ साढे ९१ फिट रहेको छ। यसमा ११ प्रकारका करीब ७० क्विन्टल अन्न प्रयोग हुने गरिएको छ। प्रतिमा निर्माण दुई नेपालीसहित १० कालिगढले काम गरेका हुन्।
भारतको मध्यप्रदेशका सतिश गुजरले प्रतिमा निर्माणको नेतृत्व गरेका हुन्। गुजरकै नेतृत्वमा गत वर्ष भारतको अयोध्यामा अन्नबाटै १० हजार ८०० बर्गफिटको सीता-रामको प्रतिमा बनाइएको थियो।
अन्नबाट निर्माण भएको सीता-रामको प्रतिमामा कुनै रंग प्रयोग गरिएको छैन। जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले ११ प्रकारको अन्नबाटै रंग संयोजन गरिएको बताए।
जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज साहले विवाह पञ्चमी भव्यताका साथ मनाउने गरिएकोमा प्रतिमाले झन आकर्षण थपेको बताए। “कुनै समयमा यसै स्थानमा सीता र रामको स्वयम्बर आयोजना गरिएको थियो, अहिले यस स्थानमा प्रतिमा निर्माण गरिएको छ,” उनले भने, “यो सुखद संयोग बनेको छ।”
गत वर्ष भारतको अयोध्यामा अन्नबाटै १० हजार ८०० स्क्वायर फिटको सीता-रामको प्रतिमा बनाइएको थियो । अयोध्या भगवान रामको जन्मस्थल हो । त्यहाँ बनाएको प्रतिमा अहिले विश्व रेकर्डमा छ ।
अब जनकपुरधाममा अन्नबाट बन्न लागेको ११ हजार ११ स्क्वायर फिटको सीता-रामको प्रतिमाले अयोध्याको रेकर्ड तोड्नेछ । अब जनकपुरधामको प्रतिमा विश्व रेकर्ड बन्ने दाबी गरिएको छ । यो प्रतिमा यसवर्षको विवाह पञ्चमीको मुख्य आकर्षण हुनेछ ।