विकास बैंकले घटाउन थाले ब्याजदर
काठमाडौं । वाणिज्य बैंकहरुसँगै विकास बैंकहरुले पनि ब्याजदर घटाउन थालेका छन् । बुधबार गरिमा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले सूचना प्रकाशित गर्दै ब्याजदर घटाएका छन् । यी दुवै बैंकले आज मंसिर २७ गते बुधबारदेखि लागू हुने गरेर ब्याजदर घटाएका हुन् ।
गरिमा विकास बैंकले बुधबार सूचना जारी गर्दै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.४० प्रतिशत दिने जनाएको छ । यो १ वर्षमाथिको मुद्दति निक्षेपको ब्याजदर हो । १ वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर ९.३० प्रतिशत निर्धारण गरेको छ ।
यसअघि मंसिर १ गतेदेखि लागू हुनेगरेर १ वर्षमाथिको मुद्दति निक्षेपको ब्याजदर ९.७५ प्रतिशत निर्धारण गरेको थियो । १ वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर ९.५० प्रतिशत निर्धारण भएको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंकले पनि बुधबार सूचना जारी गर्दै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९ प्रतिशत दिने जनाएको छ । यो १ वर्षमाथिको मुद्दति निक्षेपको ब्याजदर हो । ३ देखि ६ महिनाभन्दा मुनीको मुद्दति निक्षेपको ब्याजदर ८ प्रतिशत निर्धारण गरेको छ ।
यसअघि मंसिर १ गतेदेखि लागू हुनेगरेर १ वर्षमाथिको मुद्दति निक्षेपको ब्याजदर १०.६० प्रतिशत निर्धारण गरेको थियो । १ वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर १०.५० प्रतिशत निर्धारण भएको थियो ।