काठमाडौंमा घोषणापत्र जारी गर्दै चौथो जिम्मेवार व्यवसाय सम्मेलन सम्पन्न
काठमाडौं । घोषणापत्र जारी गर्दै चौथो जिम्मेवार व्यवसाय सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय व्यवसायिक पहल (एनबीआइ) ले सन २०१४ देखि सञ्चालन गर्दै आएको सम्मेलनको यो चौथो संस्करण हो ।
समापन कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि प्रधानपन्त्री पुष्पकमल दाहालले नेपालमा महत्वपूर्ण राजनीतिक परिवर्तनका बीच जिम्मेवार राष्ट्र निर्माण गर्न जिम्मेवार व्यवसायिक अभ्यासको आवश्यकतामा जोड दिए । दाहालले सिंगापुर र दक्षिण कोरियाको सफलताका कथाहरूबाट पाठ सिक्दै आर्थिक विकासका लागि राजनीतिक स्थिरताको सदुपयोग गर्नुपर्नेमा समेत जोड दिए ।
एलडीसी समितिको अध्यक्षको रूपमा उनले जलवायु परिवर्तन प्रभावसम्बन्धी जागरूकता ल्याउन, जलवायु न्यायका लागि नेपाललाई आवश्यक पर्ने आर्थिक श्रोतको वकालत गर्न अपील गर्न अन्तराष्ट्रिय प्लेटफर्महरू प्रयोग गर्ने योजना रहेको बताए । हालसम्मको समग्र विकासबाट आफू आशावादी र प्रोत्साहित भएको र चुनौतीहरूलाई सम्बोधन गर्न र जलवायु न्यायको प्रवर्द्धन गर्न गम्भीरताका साथ लाग्ने प्रतिबद्धता पनि वक्त गरे ।
पहलका अध्यक्ष कुशकुमार जोशीले सफल व्यवसाय र समाजको अन्तरसम्बन्धलाई जोड दिँदै बृहत् आचारसंहिता र उदीयमान नयाँ व्यवसायिक परिवर्तनहरूमा काम गर्न तत्काल आवश्यकता रहेको बताए । उनले व्यवसायमा जिम्मेवारीको अवधारणाको बारेमा चर्चा गरे र नेपाल जस्तो साना र विकासशील अर्थतन्त्रमा व्यवसायका लागि यसको अर्थके हो भन्ने प्रश्न राख्दै व्यवसायमा रहेका जिम्मेवारीका चुनौती र प्रश्नहरूको बारेमा प्रकाश पारे । जिम्मेवारी एक पटकको कार्य नभई निरन्तर प्रक्रिया भएको र दिगो समृद्धिप्रति गम्भीर प्रतिबद्धता समेत भएको बताए । यसलाई केवल एक पटकको परीक्षणको रूपमा नलिई व्यवसायहरूले निरन्तर रूपमा अपनत्व लिएर संस्थागत गर्नुपर्ने उनको तर्क थियो ।
कार्यक्रमका विशेष वक्ता काठमाडौं विश्वविद्यालयका उपकुलपति, प्रोफेसर भोला थापाले शिक्षा, अनुसन्धान र व्यावहारिक प्रयोगबीचको अत्यावश्यक सम्बन्धलाई जोड दिँदै आगामी पुस्तालाई सफल व्यावसायिक उद्यमी बनाउने खालका सीपहरू प्रदान गर्ने कुरामा जोड दिए । त्यसैगरी अर्का विशिष्ट वक्ता प्रा. सीराम रामकृष्णले डिजिटल प्रतिस्पर्धा, सीप विकास र उत्पादन विविधीकरणको माध्यमबाट उत्पादकत्व वृद्धि, कार्बोन उत्सर्जनको न्यूनीकरण र केवल खुशी नेपालभन्दा समृद्ध नेपालको निर्माणमा लाग्नुपर्ने बताए । उनले भने, ‘समस्यालाई शक्तिमा रूपान्तरण गर्न आत्वविश्वासका साथ ठूला सपना देख्नुपर्छ ।’
उद्धाटन शत्रको अन्त्यमा पहलका उपाध्यक्ष शुकुन्तलाल हिराचनले कार्यक्रमको सानदर्भिकतालाई प्रकाश पार्दै सक्रिय सहभागिता तथा उपलब्धीमुलक छलफलका लागि सम्पूर्ण सहभागीलाई आग्रह गरे ।
सम्मेलनमा ३ वटा विधामा र १० भन्दा बढी विषयमा ३७ वक्ताहरूबाट व्यापक छलफल तथा अन्तरक्रिया भएका छन् । समाज, वातावरण र अर्थतन्त्रका विविध आयाममा मानव बेचविखन तथा आधुनिक दासता, नवीकरणीय ऊर्जा, उद्यमशीलता तथा नवप्रवर्तन, व्यवसाय गर्न सहज वातावरण निर्माण, विपद् जोखिम न्यूनिकरण तथा व्यवसाय निरन्तरता योजना लगायतका विभिन्न विषयमा भएका गहन छलफलबाट महत्वपूर्ण निष्कर्ष प्राप्त भएका छन् ।
समाजका सन्दर्भमा आधुनिक दासत्व, जिम्मेवार व्यावसायिक आचरण र संस्थागत सामाजिक उत्तरदायित्व, व्यवसाय र मानव अधिकार, र पेशागत सुरक्षा स्वास्थ्य जस्ता विभिन्न सामाजिक मुद्दारूमा छलफल भयो । छलफलहरूमार्फत निरन्तर सक्रिय उपायहरू, अर्थपूर्ण गतिविधिहरू र मानव अधिकारको संरक्षण मार्फत यी समस्याहरूलाई सम्बोधन गर्नु महत्त्वपूर्ण रहेको र यसले निजी क्षेत्र, सरकार र सरोकारवालाहरूलाई विश्वसनियता, दीगोपना र समृद्धि हासिल गर्न मद्दत गर्नसवने निचोड निकालिएको थियो ।
वातावरण विधयाअन्तर्गत नवीकरणीय ऊर्जासम्बन्धी सत्रमा उच्च प्रारम्भिक लगानीका चुनौती र कमजोर नीतिका विषयमा छलफल भएको थियो । समाधानको रूपमा छरितो ऊर्जा मिश्रणको विकास गर्न सुझाव दिइएको थियो । विपद् जोखिम न्यूनीकरण सम्बन्धी सत्रमा विपद् जोखिम व्यवस्थापनका लागि पूर्वतयारीको अभावलाई उद्धृत गर्दै जोखिम न्यूनीकरणका लागि व्यवसायिक निरन्तरता योजना निर्माण गर्नुपर्ने आवश्यकतामाथि छलफल भएको थियो । वातावरणीय प्रभाव व्यवस्थापन सत्रले जैविक विविधता प्रवर्द्धनको महत्त्वलाई उजागर गर्दै जैविक प्रणालीको दुरुपयोग न्यूनीकरण र जिम्मेवार स्रोतहरूको महत्वलाई जोड दिइएको थियो ।
अर्थतन्त्रको विधा अन्तर्गतको छलफल युवा बेरोजगारीका चुनौतिहरू, गुणात्मक नवप्रवर्तनको महत्त्व र अनिश्चिततालाई पहिचान गर्नुपर्ने आवश्यकतामा केन्द्रित थियो । प्यानल छलफलले उद्यमशीलताको प्रयासमा मौलिकता र दीर्घकालीन सोचको महत्त्व, साथै डिजिटल अर्थतन्त्रसँगै आएका नवआयामहरूलाई प्रकाश पारेको थियो । व्यवसाय गर्न अनुकूल वातावरण सिर्जना गर्न सरकार, व्यवसाय, श्रमिक तथा अन्य सहयोगी संस्थाहरूबीच सहकार्यको आवश्यकतामा जोड दिएको थियो ।
कार्यक्रममा सहभागी विज्ञहरूबाट प्राप्त महत्वपूर्ण सुझावले निजी क्षेत्र तथा मुलुकले तय गर्नुपर्ने नीतिगत तहमा मार्गनिर्देशन गर्ने सहयोग पुगेको एनबीआइले दाबी गरेको छ । साथै पहलले प्राप्त सुझावहरूको कार्यान्वयन गर्न सम्वन्धित निकायमा पहल गर्नेछ ।
कार्यक्रमका दौरानमा विशेष सम्बोधनमार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सरकारलाई परोपकारी संस्था नभई सहजकर्ता र अनुगमन गर्ने निकायको रूपमा हेर्नुपर्ने उल्लेख गरे । निजी क्षेत्रले हरेक मुद्दामा सरकारलाई दोष दिनुभन्दा आफ्ना कर्मचारीको विश्वासको स्तरलाई सक्षम बनाउने र अभिवृद्धि गर्नेतर्फ ध्यान दिनुपर्ने औंल्याए । उनले निजी क्षेत्रले गुनासो मात्रै ल्याउनु हुँदैन, बरु प्रभावकारी उपाय र सुझावहरू पनि पेश गर्न आग्रह गरे ।
चौथो जिम्मेवार व्यवसाय सम्मेलनमा जारी घोषणापत्रले सफल व्यवसाय र समाजको अन्तरसम्बन्धलाई जोड दिएको छ । आधुनिक दासत्व र मानव बेचबिखनलाई सम्बोधन गर्न, मानव अधिकारको रक्षा गर्न, व्यवसायिक नैतिकता र संस्थागत सामाजिक उत्तरदायित्वको पालना गर्न, व्यावसायिक सुरक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन, नवीकरणीय ऊर्जा र वातावरणीय दिगोपनलाई प्रवर्द्धन गर्न, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्न, डिजिटल अर्थतन्त्रलाई प्राथमिकता दिइ डिजिटल रूपान्तरणमा अग्रसर रहन र यसका लागि आवश्यक कार्य गर्न व्यवसायहरूलाई आह्वान गरिएको छ।
साथै व्यवसाय गर्न अनुकूल वातावरण सिर्जना गर्न सबै सरोकारवालाले सहकार्य र समझदारी गर्न सम्मेलनमार्फत आग्रह गरिएको छ । घोषणापत्रले आगामी दुई वर्षमा निजी क्षेत्रलाई लक्षित गरी विभिन्न अभिमूखिकरण तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्ने, सरकार तथा विकास साझेदार संस्थासँग समन्वय गरी पब्लिक प्राइभेट पार्टनरसिप र जिम्मेवार व्यावसायिक अभ्यासको प्रबर्द्धन गर्ने, साथै जल्दाबल्दा विषयमा छलफल र अन्तर्क्रिया गरी अनततः पाँचौं जिम्मेवार व्यवसाय सम्मेलन आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रमको समीक्षा गर्दै पहलका संस्थापक अध्यक्ष पद्म ज्योतिले सरकार तथा निजी क्षेत्रले समन्वय गरी दीगो विकास, रोजगारी सिर्जना तथा समृद्ध नेपाल निर्माणको साझा लक्ष्य प्राप्तिका लागि आह्वान गरे । अन्त्यमा पहलका महासचिव सुरेन्द्रवीर मालाकारले मुलुक अहिले कठिन आर्थिक अवस्थाबाट गुजिरहेको र अर्थतन्त्रका वाहय क्षेत्रमा केहि सुधार देखिएपनि राजश्व परिचालन, आन्तरिक उपभोग तथा सरकारको पुंजीगत खर्चमा ह्वास देखिएको बताउँदै यसले निजी क्षेत्रको आत्मवलमा कमी आइ आन्तरिक लगानी वृदूधि हुन नसकेको र अन्तर्राष्ट्रिय लगानी वृद्धि हुने संभावना नरहेको टिप्पणी गरे ।
रोजगारी र अध्ययनको सिलसिलामा ठुलो संख्यामा विदेश पलायन भैरहेको युवाशक्तिलाई मुलकुमै रहने वातावरण निर्माण गर्न मुलक र प्रणालीप्रति भरोसा जगाउन आवश्यक रहेको र यसका लागि निजी क्षेत्र तथा राज्यका सवै निकाय जिम्मेवार हुन आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारी, राष्ट्रिय व्यवसायिक पहलका पदाधिकारी एवं कार्यसमिति सदस्यहरू, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं पूर्व अध्यक्षहरू, चेम्वरका अध्यक्ष, वस्तुगत संघका अध्यक्ष एवं पदाधिकारीहरू, प्रतिष्ठित उद्यमी व्यवसायी, दातृनिकायका प्रतिनिधिहरू, प्राज्ञिक साझेदार काठमाडौं विश्वविद्यालय एवं साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।