राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने जसपाको निर्णय
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको सोमबार बसेको बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निधारित समयमै दल दर्ता गर्ने निर्णय गरेको छ ।
बैठकले राष्ट्रिय सभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि आगामी पुस १० गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने निर्णय गरेको छ ।
यसका साथै, कार्यकारिणी समितिको बैठकले यही पुस २५, २६ गते पार्टीको राजनीतिक समिति र २७ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ ।
त्यस्तै एनसेल खरिद बिक्री प्रक्रिया रोकी उक्त घटनाको छानबिन गर्न र दोषीउपर कारबाही गर्न सरकारसमक्ष आग्रह गरेको छ ।
त्यसैगरी चुरे उत्खनन् तथा गिट्टी बालुवा निकासी पैठारीसम्बन्धि सरकारले तयार पारेको विधेयक फिर्ता लिन सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।
जसपा नेपालले सञ्चालन गरेको तीन महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्दै उक्त अभियानलाई पुस मसान्तसम्म थप प्रभावकारी ढङ्गले निरन्तरता दिने निर्णय गरेको छ ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा सातै प्रदेश समितिका इन्चार्ज सदस्य रहने गरी ८ सदस्यीय एक कार्यदल गठन भएको छ ।
उक्त कार्यदलले पार्टीको केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँटको लागि प्रस्ताव तयार पार्ने कार्य गर्ने छ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्दै जसपा नेपालले यसबीच सञ्चालन गरेको प्रदेशस्तरीय प्रशिक्षण अभियान प्रभावकारी रहेको निष्कर्ष समेत निकालेको छ ।
साथै केन्द्रीय कार्यालय सचिवको रुपमा राजनीतिक समिति सदस्य पेशल ढकाललाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।