बैंकिङ क्षेत्रमा अधिक तरलता : मंसिरमा मात्र ४ पटक निक्षेप प्रशोचन, २ पटक ट्रेजरी बिल जारी
काठमाडौं । पछिल्लो केहि समययता बैंकिङ क्षेत्रमा अधिक तरलताको समस्या देखिएको छ । बैंकिङ क्षेत्रमा अधिक तरलता हुँदा राष्ट्र बैंकले मंसिर महिनामा मात्र ४ पटक निक्षेप संकलन उपकरणको प्रयोग गरेर बैंकिङ च्यानलबाट ४५ अर्ब रुपैयाँ प्रशोचन गरेको छ ।
यसैगरी, राष्ट्र बैंकले मंसिर महिनामा मात्र २ पटकसम्म ट्रेजरी बिल जारी गरेर आन्तरिक ऋण उठाएको छ । राष्ट्र बैंकले मंसिरमा ४१ अर्ब ७३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको छ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । राष्ट्र बैंकले समय अवधिको आधारमा २८ दिने, ९१ दिने, १ सय ८२ दिने र ३ सय ६४ दिने गरी ४ किसिमका बिलहरु निष्काशन गर्ने गरेको छ ।
राष्ट्र बैंकले मंसिरको ४ गते २३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको यस्तो बिल जारी गरेको हो । यसै गरी, मंसिर १८ गते राष्ट्र बैंकले १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा तरलता उच्च हुँदा राष्ट्र बैंकले सस्तो ब्याजमा धमाधम आन्तरिक ऋण उठाइरहेको छ ।
पछिल्लो केहि महिनायता बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी घट्दो छ । जसको कारण बैंकिङ च्यानलमा तरलता बढेको छ । बैंकहरुले कर्जा लगानीमार्फत तरलता व्यवस्थापन गर्न नसक्ने अवस्था हुँदा राष्ट्र बैंकले बैंकहरुबाट निक्षेप संकलन उपकरण प्रयोग गरी तरलता खिचेको हो ।
राष्ट्र बैंकले मंसिर महिनामा पहिलो पटक ६ गते सुचना जारी गर्दै १० अर्थ रुपैयाँ निक्षेप राष्ट्र बैंकमा संकलन गर्नको लागि बैंकहरुसँग आवेदन मागेको थियो । यसैगरी, राष्ट्र बैंकले मंसिर १२ गते पनि १० अर्थ रुपैयाँ बराबरको निक्षेप बजारबाट खिचेको छ । राष्ट्र बैंकले मंसिर १४ गते पनि बजारबाट १५ अर्ब रुपैयाँ बराबरको निक्षेप खिचेको छ । मंसिर १७ मा १० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । बैंकले आज आइतबार एक सुचना जारी गर्दै मंसिर १७ गते बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलनमार्फत् १० अर्ब रुपैयाँ तान्ने जानकारी दिएको हो ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणसम्बन्धी कार्यविधि, २०७७ को प्रयोग गर्दै बजारबाट निक्षेप खिचेको हो । राष्ट्र बैंकको यस कार्यविधिमा वित्तीय बजारमा असाधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा सोको व्यवस्थापन गरी बजार ब्याजदरलाई व्यवस्थित गर्न समितिले आवश्यकताअनुसार कुनै पनि दिन बढीमा ६ महिना सम्मको लागि आकस्मिक खुला बजार कारोबार अन्तर्गत निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था रहेको छ । राष्ट्र बैंकले निक्षेप संकलन गरेको कुल रकम समितिले निर्धारण गरेबमोजिम हुनेछ ।