इस्टर्न हाइड्रोपावरले बढायो नाफा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा इस्टर्न हाइड्रोपावरको खुद नाफा ५५.९०% ले बढेर १ करोड ५५ लाख ६० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ९९ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी सामान्य बढेको छ । त्यस्तै, कुल खर्च र वित्तीय खर्च घटेको छ । यसले कम्पनीको खुद नाफा बढ्न सहयोग पुगेको हो ।
यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी २.८४% ले बढेर ४ करोड ६६ लाख २२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट ४ करोड ५३ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा कुल खर्च १२.७५% ले घटेर १ करोड ३३ लाख ५३ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष १ करोड ५८ लाख ६१ हजार रुपैयाँ रहेको वित्तीय लागत यो वर्ष १ करोड ४० लाख १२ हजार रुपैयाँमा झरेको छ ।
असोज मसान्तसम्म आइपुग्दा इस्टर्न हाइड्रोपावरको चुक्ता पुँजी ६२ करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने १४ करोड ७२ लाख रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ २४ पैसा छ ।