आजियाटाले एनसेलको ८० प्रतिशत सेयर स्वामित्व ६ अर्बमा बिक्री गरेर बाहिरियो, बेलायतको स्पेक्ट्रलाइट युकेले किन्यो शेयर
काठमाडौं । आजियाटा समूहले बिक्री गरेको एनसेलको ८० प्रतिशत शेयर बेलायतको स्पेक्ट्रलाइट युकेले किनेको छ ।
स्पेक्ट्रलाइटका संचालक सतिशलाल आचार्य हुन । उक्त कम्पनीले आजियाटाको ८० प्रतिशत शेयर स्पेक्ट्रलाइट यूकेले खरिद गरेको एनसेलले जनाएको छ ।
बुधबार व्यावसायिक चुनौती बढेको भन्दै आजियाटा समूहले एनसेलबाट बाहिरिने निर्णय गरेको थियो।
एनसेलमा मलेसियन आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत शेयर स्वामित्व थियो। बाँकी २० प्रतिशत सेयर सतिशलाल आचार्यको कम्पनी सुनिभेरा क्यापिटल भेन्चर प्रालिको स्वामित्व छ। आजिआटाले आफ्नो सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडमा स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको उल्लेख गरेको छ ।
स्पेक्ट्रलाइटको वेवसाइटका अनुसार यो कम्पनी २०२३ सेप्टेम्बरमा मात्रै खुलेको हो । जसमा सतिशलाल आचार्य र डेन्टन्स् सेक्रेटरिज लिमिटेडको संयुक्त लगानी रहेको खुलेको छ । यता आजियाता समुहले बिक्री गरेकाे एनसेलको ८० प्रतिशत शेयर स्पेक्ट्रलाइट यूकेले खरिद गरेकै दिन आजियाटाको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले दुबै पक्षलाई छलफलमा बोलाएको छ ।
आजिआटा सन् २०१६ मा नेपालमा भित्रिएको थियो । त्यसबेला १ अर्ब ३६ करोड अमेरिकी डलर अर्थात् त्यसबेलाको विनियमदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँमा एनसेलको सेयर उसले किनेको थियो ।
तर, त्यसको साढे सात वर्षपछि कम्पनी त्यसको तुलनामा अत्यन्तै काम मूल्यमा सेयर बिक्री गरी नेपालबाट बाहिरिने निर्णय गरेको छ ।
एनसेलले गत आर्थिक वर्षमा मात्रै ३९ अर्ब ८१ करोड आम्दानी गरेको थियो भने ५ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सन् २०२३ को तेस्रो त्रैमाससम्ममा एनसेलले २८ अर्ब २७ करोड आम्दानी गरिसकेको छ ।
यति ठूलो कारोबार र नाफा रहेको कम्पनीको ८० प्रतिशत शेयर साढे ६ अर्ब रुपैयाँमा विक्री हुनु अस्वाभाविक रहेको एक चार्टर्ड एकाउन्टेन्टले बताए । ‘२०२९ सम्मको लाभांश आजियाटाले पाउने भनिएको छ तर कम्पनीको नियन्त्रण कसको रहने भनिएको छैन । यस हिसाबले यो कारोबार त्यति स्वाभाविक देखिँदैन,’ उनले भने ।
एनसेलको लाइसेन्स सन् २०२९ सम्म छ । विद्यमान कानूनअनुसार त्यसपछि त्यो लाइसेन्स सरकारको नाममा आउनेछ । त्यसो हुँदा लाइसेन्सको अवधिभरको डिभिडेन्ड आजियाटाले लिने, त्यसबीचमा आकस्मिक लाभ केही भयो भने त्यो पनि आजिआटाकै हुने गरी स्पेक्ट्रलाइट युकेसँग सम्झौता भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
सन् २०२९ सम्मको व्यवसाय तथा दायित्वको जिम्मवारी एनसेलले लिने र विद्यमान र भविष्यमा पनि एनसेललाई सरकारले कुनै कर दाबी गर्यो भने त्यो खरिदकर्ता अर्थात् स्पेक्ट्रलाइट युकेले बेहोर्ने गरी सम्झौता भएको पनि उसले उल्लेख गरेको छ ।
एनसेललाई राज्यले दोहोरो कर लगाएका कारण सिर्जित वातारवण एवम् सन् २०२९ मा कम्पनीको मोबाइल लाइसेन्सको अवधि सकिँदै गएको अवस्थामा त्यो जोखिमलाई पनि ध्यान दिएर नेपालबाट बाहिरिने निर्णय गरेको उसले उल्लेख गरेको छ ।
सरकारले पटकपटक निर्धारण गरेको कर रकम सम्पूर्ण भुक्तानी गर्दा दोहोरो कर परेको र आफूले खरिद गरेको मूल्यको ६२ दशमलव ७ प्रतिशत कर तिर्नुपर्ने अवस्था सृजना भएको आजियाटाले दाबी गरेको छ ।
सन् २०२९ पछि एनसेलमा रहेको आफ्नो स्वामित्व नेपाल सरकारमा जाने जोखिम रहेको तथा नेपालमा विदेशी लगानीको संरक्षणको वातावरण नरहेकाले समेत कम्पनीले नेपाल छोड्ने निर्णय गरेको उसले जनाएको छ ।
दुई कम्पनीबीच भएको सेयर खरिद सम्झौतामा आजिआटाले ‘स्थिर प्रतिफल’ र ‘सशर्त प्रतिफल’ को व्यवस्था गरिएको छ । आजियाटाले एनसेलको ८० प्रतिशत सेयर बेचेबापत ५ करोड अमेरिकी डलर स्थिर प्रतिफलका रुपमा पाउनेछन् । त्यसमध्ये ५० लाख अमेरिकी डलर आजियाटाले ६ महिनाभित्र खरिदकर्ताबाट प्राप्त गर्ने र बाँकी रकम चार वर्षभित्र खरिदकर्ताले तिर्ने सम्झौता भएको छ ।
त्यस्तै, सशर्त प्रतिफलका रुपमा सन् २०२९ सम्म एनसेलले व्यवसायको प्रदर्शनका आधारमा वितरण गर्ने खुद लाभांश र तथा कुनै अप्रत्यासित लाभ रहेको पनि सम्झौतामा उल्लेख छ ।
एनसेलले नेपालको आर्थिक सामाजिक विकासमा ठूलो योगदान गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एनसेलले गत आर्थिक वर्षसम्म कुल २ अर्ब ८३ अर्ब रुपैयाँ कर तिरेको दाबी पनि विज्ञप्तिमा गरिएको छ ।
एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष गरी २५ हजार रोजगारी सृजना गरेको र १ करोड ७० लाख ग्राहकलाई सेवा दिएको पनि जनाएको छ ।