अरू विषय पढेकाले पनि अंग्रेजी र नेपालीमा एमए गर्न पाउने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नेपाली तथा अंग्रेजी विषयमा विशेषज्ञता हासिल गर्न तल्लो तहदेखि नै नेपाली तथा अंग्रेजी मूल विषय पढ्नुपर्ने व्यवस्था हटाएको छ ।
विश्वका अधिकांश विश्वविद्यालयले केही प्राविधिक बाहेकका विषय पढ्न विद्यार्थीले तल्लो कक्षामा पढेको विषयलाई गौण मान्ने गरेका छन् । नेपालमा भने कतिपय विषयमा माथिल्लो तह पढ्नको लागि तल्लो कक्षामा पढेको विषयको आधारमा भर्ना नपाउने अवस्था थियो ।
२४ असोजमा त्रिवि प्राज्ञिक परिषद्ले त्यसलाई तोड्दै जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीलाई स्नातकोत्तर (एमए) मा नेपाली तथा अंग्रेजी विषय पढ्न दिने निर्णय गरेको थियो ।
त्यस अनुसार अंग्रेजी र नेपाली विषय विभागहरूले भर्ना खुलाएका छन् । अधिकांशले त्रिविको निर्णयलाई सकारात्मक मानेका छन् भने कतिपयले विद्यार्थी कम भएपछि विद्यार्थी बटुल्ने दाउ भनेका छन् ।