सुनको भाउमा नयाँ रेकर्ड, अहिलेसम्मकै महँगो
काठमाडौँ । सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ जुन हालसम्मकै उच्च मूल्य हो।
आइतबार छापावाला एक लाख १६ हजार ९०० रुपैयाँ र तेजावी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। सोमबार सुन तोलामा ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।
यसअघि सुनको भाउ कार्तिक ११ गते हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। सो दिन छापावाला सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो। सोमबार सो रेकर्ड तोडेको हो।
यस्तै सोमबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५०० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो।