मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै
बुकिङका लागि केही स्टलमात्र बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले नेपाल सरकारको सहकार्यमा आगामी मंसिर १४ देखि १८ गतेसम्म नेपाल अन्तराष्ट्रिय व्यापार मेला गर्ने भएको छ । सोमबार टेकुस्थित महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै महासंघले यस्तो जानकारी दिएको हो ।
महासंघले नेपाल सरकारको सहयोगमा आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गत वर्ष कोभिडको कारण निरन्तरता पाउन नसकेको मेला यो वर्ष आयोजना गर्न लागेको बताए । उक्त मेलाको लागि ५० प्रतिशतभन्दा बढी स्टलहरु बुकिङ भइसकेको बताउँदै उनले मेलामा करिब ३ सय स्टलहरु रहने बताए । उनले मेलामा ७० भन्दा बढी चीनबाट र ८० भन्दा बढी स्टल बुकिङ भारतबाट भएको उल्लेख गरे ।
साथै, मेलामा बंलादेशबाट पनि ४० भन्दा बढी स्टल बुकिङ गरेको बताउँदै अध्यक्ष ढकालले लामो समयपछि अन्तर्राष्ट्रिय व्यापार मेला हुन लागेकाले अन्तर्राष्ट्रिय व्यापार महत्वपूर्ण योगदान पुग्ने विश्वास रहेको बताए ।
मेला नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्न एक सशक्त माध्यम बन्दै आएको छ । मेलामा नेपालको औद्योगिक व्यावसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास लिइएको छ ।
तीन सयभन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापान, इन्डोनेसिया, मलेसियालगायतका देशका क्रेतालाई आमन्त्रण गरिने आयोजकले जनाएको छ ।
मेलामा भारत चेम्बर अफ कमर्स र नेपालको नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघको संयुक्त आयोजनामा आयुर्वेदसम्बन्धी उत्पादनको प्रदर्शनी एवं प्रवचन कार्यक्रमसमेत हुनेछ ।
मेलाको मुख्य आकर्षणमा मेड इन नेपाल सो हस्तकला उत्पादनहरु, एनटीआईएस प्रोडक्ट, कमोडिटी पेभिलियन रहनेछन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तर्क्रिया गराउने लक्ष्यसमेत राखिएको छ ।
मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्धन तथा लगानीबारे छलफल हुनेछ । मेलाको स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ । विभिन्न जिल्लामा आयोजना भएका मेलामा उत्कृष्ट स्टल तथा उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराइनेछ ।
मेलामा जेष्ठ नागरिक तथा फरक रुपले सक्षम नागरिकलाई निःशुल्क तथा विद्यार्थीलाई उनीहरुको प्रवेशपत्रका आधारमा ५० प्रतिशत प्रवेश छुटको व्यवस्था गरिएको छ ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय व्यापार मेला अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी हुने विश्वास व्यक्त गरे । त्यस्तै उपाध्यक्ष सुरकृष्ण वैद्यले एउटा छुट्टै ब्रान्ड बनाउन सफल मेला निजी क्षेत्रका लागि बलियो प्ल्याटफर्म भएको बताए । उपाध्यक्ष हेमराज ढकालले वस्तुगत संघको छुट्टै पेभिलियनले मेलालाई थप आकर्षक बनाउने बताए ।