हिमालयन रि इन्स्योरेन्सको आईपीओ निष्काशन तथा बिक्री खुला
काठमाडौं । हिमालयन रिइन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज सोमबार (मंसिर ४ गते) देखि प्रिमियम मूल्यमा आइपीओ खुला गरेको छ । यस कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरमा आइपीओ ल्याएको हो ।
यसअघि कात्तिक २१ गतेदेखि जारी गर्ने भनिएकोमा सार्वजनिक लेखा समितिले त्यसबेला रोक्न आदेश दिएपछि यसको मिति पर सरेको थियो । यद्यपि, कम्पनीले भने तिहार पर्व परेका कारण मिति सारिएको दाबी गरेको थियो । सोही अनुसार आजबाट खुला भएको हो ।
हिमालयनले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३०% ले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यसअनुसार कम्पनीले यसको १०% अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरेको हो ।
यसपछि सर्वसाधारणमा आइपीओ खुला हुनेछ । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।