खोला किनारबाट अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य (तस्वीरहरु)
काठमाडौं । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ । मधेसका अधिकांश जिल्लाहरूमा गाउँदेखि शहरसम्मका जलाशयमा दुलही जस्तै सिँगारिएको घाटमा आज व्रतालुहरूले अस्ताउँदो सूर्यको अर्घ्य दिएका हुन् ।
माटोले बनाइएको नयाँ घैलो, हाँथी, कोसिया कुरबार, बाँसले बनाइएको कोलसुप, सुपा, ढकिया, चंगेरासहितमा प्रसाद राखी जम्मा भएका व्रतालुहरूले जलाशयको दृष्य मनमोहक देखिएका छन् । अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा व्रतालुले दुवै हातमा चामलको घोल र सिन्दूर लगाएर अक्षता र फुलसहित पालैपालो अर्घ्य सामग्री सूर्य देवता समक्ष अर्पण गरेका छन् ।
३६ घण्टासम्म पानीसमेत नखाई व्रत बसिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ दिँदै छठीमाताको पूजा आराधना गर्ने गरिन्छ । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि छठ विधिवत् रूपमा समापन हुन्छ ।
विना भेदभाव सबै जाति र समुदाय पोखरी, नदी र जलाशयको घाटमा जम्मा भई सँगसँगै सूर्य देवताको पूजा गर्ने परम्परा रहेको यो पर्व साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता र मेलमिलापको संगम साबित भएको छ ।
तस्वीरहरु
बर्दिबास नगरपालिका–१४ स्थित हटिया पोखरी घाटमा आइतबार साँझको अर्घ्यको तयारीमा स्थानीय । निराहार व्रत बसेका बर्तालुले आज साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिने गर्दछन । तस्वीर : गोपालप्रसाद बराल / रासस
छठ पर्वको प्रसाद …
धनुषाको जनकपुरधाम स्थित गंगासागरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिन श्रद्धालुभक्तजनहरुले ल्याएका छठ पर्वको प्रसाद । तस्वीर : अजयकुमार साह / रासस
बरूण सरोवरमा अर्घ्यको तयारी .. । महोत्तरीको जलेश्वर नगरपालिका–१ स्थित बरूण सरोवरमा आइतबार साँझको अर्घ्यको तयारीमा स्थानीय । निराहार व्रत बसेका बर्तालुले आज साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिने गर्दछन । तस्वीर : सञ्जीतकुमार मण्डल / रासस
छठ पर्वको दिन आइतबार काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजा गर्न बसेका भक्तजन । छठ पर्वको दिन अस्ताउँदो सूर्यलाई पूजाआजा गर्ने र भोलीपल्ट उदाउदो सूर्यलाई अर्घ्य दिने प्रचलन छ । तस्वीर : रत्न श्रेष्ठ / रासस
लोहन्द्रा खोला छठ घाट .. । मोरङको बेलबारी नगरपालिका स्थित लोहन्द्रा खोलामा छठ पूजाका लागि निर्माण गरिएको छठ घाट । लोहन्द्रा खोलामा सामूहिक रूपमा छठ पूजाका लागि सय भन्दा बढी घाटहरू निर्माण भएका छन् । तस्वीर : मणिराम दाहाल / रासस
अस्ताउदो सूर्यलाई पूजा गर्दै ..
वीरगञ्जको रानिघाटस्थित छठ घाटमा आइतबार अस्ताउदो सूर्यलाई पूजा गर्दै व्रतालहरु । तस्वीर : विजयकुमार महतो / रासस